विद्यालयबाट हराएका तीन बालिका पाँच दिनपछि भेटिए

पाँच दिन अघि सुर्खेतको सिम्ताबाट हराएका बालिका बुटवलमा फेला परेका छन् । गत मंगलबार सुर्खेत सिम्ता गाउँपालिकाको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया निशा सिंह ठकुरी, एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२ वर्षीया रिचिमा खत्रीसँगै बेपत्ता भएका थिए । तीनै जनालाई प्रहरीले आइतबार बुटवलको बसपार्कमा फेला पारेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाइले जानकारी दिए ।

गत मंगलबारदेखि विद्यालयबाटै किशोरी हराएपछि प्रहरीले खोजी तीव्र गरेको थियो । बालिकाका आफन्तको निवेदनको आधारमा बालिकाको खोजीमा लागेको प्रहरीले पाँच दिनपछि बालिका फेला पार्न सफल भएको चौलागाइले बताए । ‘बालिका स्कूलबाट हराएपछि कोहोलपुर चौराहसम्म पुगेको जानकारी प्रहरीले पाएको थियो तर, कोहलपुरबाट कता गए भन्ने थाहा नहुँदा अनुसन्धानमा ढिला भएको हो’ उनले भने । अनुसन्धानबाट शनिबार मात्र बालिकाहरु बुटवल गएको निष्कर्षमा प्रहरी पुगेपछि त्यहाँको प्रहरीको सहयोगका बालिका फेला परेको उनले बताए ।

बुटवलमा भेटिएका बालिकालाई प्रहरीले उद्धार गरी सुर्खेततिर ल्याइरहेको जनाइएको छ । बालिका कसले किन वुटवल पुर्यायो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘पाँच दिनपछि बालिका भेटिएपछि हामीले बालिकाको उद्धार गरेका छौ’ प्रहरी निरीक्षक चौलागाइले भने, ‘बालिकालाई सुर्खेत पु¥याएपछि सबै तथ्य खुल्न सक्छ ।’

प्रहरीका अनुसार एकजना अपरिचित व्यक्तिको साथमा बालिका फेला परेका थिए ।  गत मंगलबार हराएका बालिकाहरु मिलन विक नामका सवारी चालकले सल्लीबजारबाट आफ्नो गाडीमा छिन्चुमा लगेका थिए । ती बालिकाहरुले बुटवल फुपुको घर जाने भनेपछि मिलनले नेपालगन्ज जाने गाडिमा बालिकालाई चढाई दिएको बताएका थिए ।