नवराज न्याैपाने ‘माैन’
नेपाली जनता विशिष्ट मनका सन्त्रास बोक्दै यहाँ
कोरोना जब फैलियो भुवनमा विश्वास रोक्दै यहाँ
हेर्दैछन् जनले सुवास सरिता बिर्सेर आफ्नो खति
पक्का हुन्छ जुटे समस्त जनता नेपालको उन्नति
मान्छे आज मरे अनन्त सपना फिक्का सरी भैदिए
आशा आज झरे विराट मनमा एक्लोपना गैदिए
फुर्छन् आज सपाट शोक कविता रुन्चे परेली बने
हे धर्ती अब राख मान सपना साकार पार्छौ भने
नेपाली हुनुमा छ गर्व अति नै नेपाल हाम्रो घर
भोको पेट र रुग्ण यो तन भयो हा दैवमा निर्भर
भन्दै जो जगमा घुमे सतहमा हौँ बन्धु औ बान्धव
सेवा भाव लिँदै बुझेर समता बढ्ने कुरा वैभव
सोचेझैँ नभए समस्त मनका आशा झरी जान्छ कि
बोलेझैँ नभए अपार दिलको माया मरी जान्छ कि
भन्दै आज बढे सयौँ शिखरमा पुग्ने कुरा देखियो
माया आज नमार क्लान्त जनका यी दर्दमा लेखियो
मान्छे हाँस्छ लुकाउदैछ मनका कुण्ठा र बाधाहरू
मान्छे बाँच्छ सजाउँदै नयनमा लाखौंं इरादाहरू
उठ्नैपर्छ मिलापले भुवनमा सम्पन्नता छाउन
जुट्नैपर्छ युवा अठोट नभुली याे देश चम्काउन
( शार्दूलविक्रीडित छन्द)
कर्णाली रैवार संवाददाता । १४ फाल्गुन २०८०, सोमबार २२:४०