नवराज न्यौपाने ‘मौन’
बिहे गरेको दुई महिना पनि नबित्दै लोग्ने अरबतिर लागेपछि सानुमाया विरक्त भएकी थिइन् । उनको जीवनमा गाउँको कृष्ण नाम गरेको युवक नजिक हुँदै आएपछि केही खुशी मिल्न थालेको थियो । महिनाको मन हरेर फस्ल्याङफुस्लुङ पारेर रकम जिब्ट्याउन सिपालु कृष्णले गाउँका धेरै महिलालाई मायाजालमा फँसाएर रकम कुम्ल्याउने गरेको थियो ।
सानौमायासित पनि मोजमस्ती गरेर उसले लोग्नेले पठाएको रकममध्ये झण्डै एक करोड रुपैया लगिसकेको थियो । तीन वर्षमा लोग्ने आउन खोज्दा उसैले नआउनु भन भनेर सिकाएको थियो । धेरै महिलासँग पैसा सापटी मागेर उसले बजारमा हार्डवयर पसल खोलेको थियो । अनि स्थानीय रुटमा तीनवटा बस पनि सञ्चालन गरेको थियो ।
छ वर्षपछि सानुमायाको लोग्ने अरबबाट घर आउने भयो । मेरो एक करोड पैसा ले भनेर सानुमायाले ताकेता गर्न थालेपछि कृष्णले सानुमायालाई मारेर रुखमा झुण्ड्याइदियो । झुण्डिएको लाशले भुइंमा घुँडा टेकेको थियो ।
प्रहरी आएर घटनास्थलको मुचुल्का तयार पारे । तर कुन कुन व्यक्तिसँग मृतकको हिमचिम थियो भनेर कसैले बोल्न चाहेनन् । अनि,भोलिपल्ट पत्रिकामा समाचार आयो – छ वर्षसम्मा लोग्ने विदेशबाट नफर्केपछि विरक्तिएर महिलाद्वारा आत्महत्या ।
-मातातीर्थ , काठमाडौं ।
कर्णाली रैवार संवाददाता । ३ फाल्गुन २०८०, बिहीबार १५:४२