गजल

नवराज न्याैपाने ‘माैन’

सम्झेर देह गल्ने कम्पन रहेछ माया
आँखा उघारी हेर्दा चिन्तन रहेछ माया

ज्ञानी गुणी सबैले भाेगेर भाव भर्छन्
संसार सार बाेक्ने घड्कन रहेछ माया

माया लगाई नाैलाे साँचेर प्रीति आज
भित्री कथा सुसेल्ने मन्थन रहेछ माया

काे बाँच्छ आज साँच्चै माया बिना मजाले
बिर्सूँ भनेर खाेज्दा ऐठन रहेछ माया

नाटक चलेर जाँदा फेरिन्छ पात्र मात्र
सृष्टि अनन्त थाम्ने रासन रहेछ माया

( बहर: मुजारे मुसम्मन अखरब)

गजल २
नवराज न्यौपाने’मौन’

जाँचेर आफ्नु साथी छान्ने रहेछ माया
हाँसेर ज्यून एक्लै जान्ने रहेछ माया

पोखेर भाव नौलो साथी बनाइ यौटा
सर्वस्व जिन्दगानी ठान्ने रहेछ माया

संसारमा रमाई खोजेर काम नौलो
पाङ्ग्रा दुई रथैको तान्ने रहेछ माया

देखेर देश सारा फर्केर आज गाउँ
संस्कार-पर्व-इज्जत धान्ने रहेछ माया

संघर्षले कमाई विश्वासले हिंडाई
सन्तानको चिनारी मान्ने रहेछ माया ।

( बहर: मुजारे मुसम्मन अखरब)

गजल ३

सल्किन्छ भित्रभित्रै, आगो रहेछ माया,
जेलिन्छ जिन्दगानी , धागो रहेछ माया।

टिप्दै गएर भाषा , खिप्ने रहेछ गाथा,
निर्बन्ध भावनाको, छाँगो रहेछ माया।

बुन्दै अनन्त माया, सुन्दैछ गीत नौलो,
हज्जार पुष्प फुल्ने, हाँगो रहेछ माया।

बाँधेर एकताले, नाघेर साँध जम्मै,
धोएर वस्त्र राख्ने, टाँगो रहेछ माया।

उम्रन्छ आश नौलो, हुर्कन्छ प्रेमधारा,
धर्ती समान माटो , पाँगो रहेछ माया।

( बहर: मुजारे मुसम्मन अखरब