चौँरी स्रोत केन्द्र स्थापनाका लागि विनियोजन गरिएको एक करोड रकम फ्रिज

हुम्लामा चौँरी स्रोत केन्द्र स्थापनाका लागि भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय हुम्लामा आएको एक करोड रुपैयाँ फ्रिज  भएको छ ।

लामो लकडाउनका कारण चौँरी खरिद गर्ने समस्या भएपछि बजेट फ्रिज भएको कार्यालयले दाबी गरेको छ ।

कर्णाली प्रदेश सरकारले भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालयमार्फत स्रोत केन्द्र स्थापना गर्न बजेट पाएको थियो ।

चौँरी स्रोत केन्द्रका लागि चौँरीको स्रोत नहुँदा र लकडाउनका कारण  जिल्लाबाहिरबाट चौँरी खरिद गर्न समस्या भएपछि बजेट फिर्ता गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले जानकारी दिए ।

चौँरी स्रोत केन्द्रका लागि सम्भाव्यता अध्ययन गर्दा सिमकोट गाउँपालिका बरगाउँ, निमाटाङ, दोजामलगायत स्थानमा एक सय ८७ चौँरी र नाम्खा गाउँपालिका–१ ताङिगन गाउँमा तीन सय १५ र हेप्का र धिगागाउँ गरी एक सय ७० चौँरी रहे पनि लकडाउनले  खरिद गर्न समस्या भएपछि बजेट फिर्ता गएको बुढथापाले बताए ।

बन्दाबन्दीले चौँरी खरिद गरेर ल्याउन नसकिने अवस्था देखिएपछि चौरी स्रोत केन्द्र स्थापनका लागि आएको शीर्षक बजेट फिर्ता भएको बुढथापाको भनाइ छ । प्रदेश सरकारले कार्यान्वयन गरेका कार्यविधि सम्भाव्यता अध्ययन नगर्दा समस्या भएको पशु सेवा कार्यालयका प्रमुख बुढथापाले बताए ।

जिल्लाका ७ वटै गाउँपालिकाको सम्भाव्यता अध्ययन गरी बजेट पठाएको भए पनि अहिलेको जटिल अवस्थाले गर्दा अघि बढ्न नसकेको उनले बताए ।

चौरी स्रोत केन्द्रका लागि ६० प्रतिशत सरकार र ४० प्रतिशत कृषकहरूले बजेट व्यहाेर्ने गरी अघि बढ्ने मोडालिटी अपनाउनुपर्ने प्रावधान गरिएको छ ।