घट्टेखोला लघुजलविद्युत् आयोजना: बजेट अभावले नौ वर्षदेखि अलपत्र

खार्पुुनाथ गाउँपालिका–३ राया गाउँस्थित घट्टेखोला लघुजलविद्युत् आयोजना अलपत्र परेको छ । राया र कारांगा गाउँका दुई सय ४० परिवारका लागि नौ वर्षअघि यो आयोजना सुरु गरिएको थियो । ०७०/७१ मै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अहिलेसम्म बनेको छैन । आयोजनाका सरसामान गाउँमै अलपत्र छन् ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रले ६० लाख, स्नोल्यान्ड एकीकृत विकास केन्द्रले २९ लाख, तत्कालीन राया गाविसले २४ लाख, खार्पु गाउँपालिकाले १० लाख, वडा कार्यालय रायाले १० र मौरी वन उपभोक्ता समितिले एक लाख लगानी गरेका थिए । एक करोड ३४ लाख रुपैयाँ लगानी भएपछि पनि आयोजना निर्माण हुन सकेको छैन ।

उपभोक्ता समितिको लापर्बाहीका कारण आयोजना अलपत्र परेको स्थानीय बासिन्दाको आरोप छ । ‘विद्युत्का सामान गाउँभरि अलपत्र छन्, उपभोक्ता समितिले वास्तै गरेको छैन्,’ स्थानीय पूर्णबहादुर रोकायाले भने ।

घट्टेखोला लघुजलविद्युत् आयोजनाका कोषाध्यक्ष बलवीर रावलले रकम अभावले ढिलाइ भएको बताए । ‘रकम अपुग भएपछि ढिलाइ भएको हो,’ कोषाध्यक्ष रावलले भने, ‘विद्युत् निर्माणका सबै सामान गाउँमा पुगिसकेका छन् । अब सिमेन्ट ल्याउन बाँकी छ ।’

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले पहिलो किस्ता भुक्तानी भइसकेको र दोस्रो किस्ता छिट्टै भुक्तानी गरिने बताए । गाउँपालिकाले छुट्याएको २० लाखमध्ये पहिलो किस्ताको १२ लाख ४७ हजार भुक्तानी गरेको जनाएको छ । ‘माग भएको छैन, माग गर्नेबितिक्कै दोस्रो किस्ता भुक्तानी हुन्छ,’ अध्यक्ष रावलले भने । naya patrika