स्वास्थ्यचौकीमा बस्दैनन् स्वास्थ्यकर्मी, बिरामीलाई सास्ती

खार्पुनाथ गाउँपालिका–३ स्थित रायाँ गाउँकी ३० वर्षीया पञ्चसरी रावल झाडापखाला र टाउको दुख्ने समस्याले पीडित भइन् । उपचारका लागि उनी नजिकै पर्ने रायाँ स्वास्थ्यचौकी पुगिन् । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनी विनाउपचार घर फर्किन बाध्य भइन् । चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि घर फर्किन बाध्य भएको पञ्चसरी रावलले बताइन् ।

राया स्वास्थ्यचौकीमा चारजनाको दरबन्दी छ । एकजना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी । दरबन्दी चारजनाको भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारविनै फर्कनुपर्ने बाध्यता छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाई स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर घर आएको रावलको दुःखेसो छ ।

स्वास्थ्य इन्चार्ज भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएका छन् । अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेत झरेकी छिन् । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयको भनाइ छ ।

अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष रावलको भनाइ छ । यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।