महिनौँदेखि अवरुद्ध सडक नखुल्दा घर फर्कंने मतदातालाई सास्ती

हुम्ला- पहिरोले अवरुद्ध भएका सडक लामो समयसम्म नखुलाइँदा ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न घर फर्कंदै गरेकाहरूले सास्ती व्यहोर्नु परेको छ ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटदेखि हुम्लासम्मका विभिन्न खण्ड महिनौँदेखि  अवरुद्ध छन् । जसका कारण हुम्ला घर भएका मतदाताहरू सुर्खेत हुँदै कर्णाली करिडोरबाट नआई सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला भएर आउन थालेका छन् ।

‘कालिकोट खुलालुदेखि हुम्लाको सल्लिसल्ला खण्डका विभिन्न भाग पहिरोले अवरुद्ध छ,’ चंखेली गाउँपालिका– ६ का खडक शिराले नयाँ पत्रिकासँग भने, ‘सकसपूर्ण यात्रा गरी हुम्ला जिल्लाको सल्लीसल्लासम्म आइपुग्यौँ ।’
उनले अछाम, बाजुरको मार्तडी हुँदै सल्लीसल्ला पुग्न एक साता लागेको जानकारी दिए । ‘धेरैको बिचल्ली भएको छ । विशेष गरी महिला, बालबालिका, बृद्वबृद्वा र शारीरिक रूपले कमजोर भएकाहरूले सबैभन्दा धेरै सास्ती पाएका छन् ।’

सर्केगाड गाउँपालिका– ६ की रेलकला रोकायाले कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डका धेरै ठाउँमा पहिरोले अवरुद्ध पारेको सडक अझै नखुलाउँदा दुःख पाएको बताइन् । ‘गत बर्खामा पहिरो खसेर अवरुद्ध भएको सडक महिनौँदेखि उस्तै छ । सरोकारवाला निकायले बेवास्ता गर्दा सुदूरपश्चिमका दुई जिल्ला नाघेर हुम्ला पुग्ने परेको छ,’ रेलकलाले भनिन् ।

उनका अनुसार बाजुराको धलाचौरसम्म गाडीमा जान सकिन्छ । त्यहाँ पहिरोले सडक रोकिएकाले त्यसपछि कठिन यात्रा गर्नुपर्छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म सडक भए पनि हिँडेर आउनु परिरहेको उनले बताइन् ।

बाटो नखुल्दा स्थानीय व्यापारीलाई समेत समस्या परेको छ । ताजाकोट गाउँपालिका– १ का धनबहादुर खड्कले सामान लिन हिडेर बाजराको धुलाचौर पुग्नु परेको बताए । ‘‘महिनौँदेखि सडक अवरुद्ध छ । चाउचाउ, बिस्कुट सकियो । त्यही बेचेर परिवार पाल्ने गरेका थियौँ,’ उनले भने, ‘सामान लिन पाँच घण्टा हिडेर बाजुराको धुलाचौर पुग्नुपर्छ । सामान ल्याउन त्यस्तै सास्ती छ ।’