फापर फलाउन वनदेवताको पूजा

उत्तरी नाम्खा गाउँपालिका  १ लेकधिगाका स्थानीय वन देउताको पुजा गरी फापर फलाउने गरेका छन् । धिँगा गाउँको पूर्व पश्चिम दिशाको ठूलो पहाडमा रहेको लाप्सोल अर्थात वन देवतालाई फापरको पिठोले पुजा गर्ने गरेका छन् ।

यो गाउँमा परम्परादेखी नै फापरको खेतीप्रशस्त गर्ने गरिन्छ भने गाउँका स्थानीयको लागि फापरको महत्व ठूलो छ । सोही क्षेत्रको फाँटमा रहेका जग्गामा फापर राम्रो होस् भनेर  वन देवतालाई पुजा गर्ने प्रचलन छ ।

पुजा गरिसके पछि त्यस क्षेत्रको फापर राम्रो फस्टाउने जनविश्वास  छ । गाउँको पूर्व पश्चिममा रहेको च्योछ्योमो वन देवताको पुजा गर्ने यो गाउँको रैथाने परम्परा नै हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि गाउँका पुराना तथा नयाँ पुस्ता लागि परेका छन् ।

लोप्सोलको अवसरमा विभिन्न खेल खेल्छन

हरेक वर्षको जेठ १५ गते परम्परागत रुपमा मनाइने लोप्सोलका अवसरमा नाम्खा गाउँपालिका १ लेक धिगा गाउँमा विभिन्न खेल खेल्ने चलन  छ । मेलाको अवसरमा  गाउँमा बलियो युवा छान्ने गरिदै आएको छ । गाउँघरको पुरुष र महिला मध्येका युवायुवतीको शक्ति परिक्षण गर्न खेल आयोजना हुने गरेको छ । जिल्लामा मनाइने विभिन्न चाडपर्वको अवसरमा यस्तो परिक्षण गर्ने गरिएको छ ।

घोडा दौडमा प्रतिष्पर्धा गदै स्थानीय प्रकाश लामा

नाम्खागाउँपालिकाको वडा नं. १ लेक धिँगाकावासिन्दाले गाउँकै बलियो युवा छान्नको लागि हरेक वर्ष विभिन्न खेल आयोजना गर्ने गरेका छन् । यस्ता खेलबाट गाउँमा उपलव्ध भएका पुरुषहरुको विचमा घोडा दौड, डोरी तान्ने र ढुंगा उठाउने खेल खेलाइन्छ भने महिलालाई डोरी तान्ने खेलको आयोजना गर्ने गरिएको छ । यस्तो खेल हुम्ला जिल्लाभर यहि मात्र आयोजना हुने गरेको छ ।

फापरकै खानेकुराको देउताको देउवाको पुजा
बिहानै उठेर पुर्वमा रहेको ठुलो पहाडमा वनदेवता बस्ने गरेको भन्दै पुजाआजा गरिन्छ । २०औं वर्ष पहिले बोका चढाइने भएको भएता पनि गुम्बाको रिम्पोछेले बोका चढाउने काम पाप भएको भन्ने ठहर पछि हाल फापरबाट बनेका परिकारले मात्र वन देवतालाई पुजागर्ने गरिएको छ । सोही दिन लामा समुदायको पर्वमा प्रचलित पेयपदार्थ छ्याँग पनि फापरको रोटीबाट नै बनाएर पिउने प्रचलन रहेको छ ।

साथै फापरको पिठोलाई लेदो बनाएर छ्याङमा मिसाएर गाउँका सबैले पिउने प्रचलन समेत यो पर्वमा रहेको छ । यस शक्ति परिक्षणको लागि करिब १ सय ५० केजीको ढुगा उचाल्ने चलन रहेको छ । डोरी तान्ने खेलमा खेल मैदानको एकातिर ३ जना महिला र एकातिर २ जना पुरुष खेलाडी सहभागी हुने गरेका छन् । डोरी तान्ने खेलमा महिलाले जिते पछि फापर राम्रो उत्पादन हुने जनविश्वास समेत छ ।हरेक घर धुरीबाट ठुलो भाँडोमा फापरको पिठो मिस्रित छ्याङ ल्याएपछि गाउँका सबै महिला पुरुषले एकै ठाउँमा भेला भएर सोही परिकार बाँडेर खाने चलन  छ ।