नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल कर्णालीको स्थानीय बाजा दमाहाको तालमा मजाले नाचेर रमाए । झ्याली बजाउँदै रमाएर नाचेका हमालले स्थानीयको मन जिते ।
हमाललाई आउने भनेपछि शनिबार स्थानीयको भिड जुटेको थियो । युवामात्र नभई जेष्ठ नागरिक र बालबालिका पनि नायक हेर्न तछाडमछाड गर्दै पुगेका थिए । हमाल आउने सुनेर सिमिकोटमा भिड बढेको थियो ।
प्राकृतिक दृश्य हवाई अवलोकन गरेपछि हुम्ला घुम्ने धोको बल्ला पुरा भएको हमालले बताए । पर्यटन क्षेत्रको प्रर्बद्धन गर्ने उदेश्यले संचालन भएको ‘बाईजाउ’ (हुम्ला घुम्न जाउँ) कार्यक्रममा सहभागी हुन आएका हमालले हुम्लाको सुन्दरताले मोहित बनाएको प्रतिक्रिया दिए ।
‘प्राकृतिक सुन्दरता दुर्गममा हुन्छ,’ उनले भने, ‘हुम्ला निकै मनमोहक ठाउँ हो । संसारका पर्यटकहरु हुम्ला आएर रमाउन सक्छन् । पुर्वाधार विकास भए पर्यटक बढ्छन् ।’ उनले नेपालमा पूर्वाधार अभावले धेरै पर्यटकिय स्थल ओझेलमा परेको उनले बताए ।
नरजन तामाङ । २२ जेष्ठ २०७६, बुधबार १७:५३