हुम्ला, नेपाल — सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा अवस्थित कोरोन उपत्यका—एक सुन्दर, तर अझै नचिनिएको स्थान हो। पूर्वमा तिब्बत स्वायत्त क्षेत्रसँग सिमाना जोडिएको यो उपत्यका अपार प्राकृतिक सम्पदा, जैविक विविधता र दिगो पर्यटनको सम्भावनाले भरिपूर्ण छ, तर आजसम्म पनि कमैको नजरमा परेको छ।
शुद्ध पदमार्ग, विशाल खुला चौर र मौलिक घुमन्ते संस्कृतिको समृद्धि बोकेको कोरान उपत्यका पदयात्रा, शिविर बसाइ र सांस्कृतिक अन्वेषणका लागि आदर्श गन्तव्य हो। यस उपत्यकाले प्रसिद्ध लिमी उपत्यकासम्म पुग्ने प्राकृतिक मार्गको काम समेत गर्छ, जसले यसलाई इको–टुरिज्म र साहसिक यात्राको केन्द्र बन्ने ठूलो सम्भावना दिएको छ।
तर, यो उपत्यका अब जीवन पाउनुअघि नै मर्न लागेछ।
“विकास” को नाममा यहाँका पवित्र पहाडहरूमा डोजर चलिरहेका छन्। जसले यस क्षेत्रको मौलिकता, प्राकृतिक सौन्दर्य र संवेदनशील पारिस्थितिकी प्रणालीमा गहिरो चोट पुर्याइरहेको छ। शताब्दीयौँ पुरानो घुमन्ते संस्कृति विदेशी पर्यटकहरूलाई विशेष आकर्षण गर्ने तत्व बिलाउन थालेको छ।
स्थानीय समुदाय–आधारित जीविकोपार्जन कार्यक्रम र सामाजिक चेतना वृद्धिको सट्टा, सबै तीन तहका सरकारहरू सडक निर्माणमै केन्द्रित देखिन्छन्। यी योजनाहरू बिना कुनै वातावरणीय अध्ययन, स्थानीय भू–गठन र जैविक संवेदनशीलतालाई बेवास्ता गर्दै अगाडि बढाइँदैछन्—यस्ता गल्तीहरू नेपालभरि पहिले पनि देखिएका छन्, र तिनले ठूलो विनाश ल्याएका छन्।
नयाँ सडक र खुला, असुरक्षित सिमानाका कारण अहिले कोरान उपत्यकामा अवैध काठ तस्करी, वन्यजन्तु सिकार, र अनियन्त्रित सीमापार गतिविधिहरू भित्रिन थालेका छन्। योजनाको अभाव, अध्ययनको कमी र निगरानीको कमजोरीले प्राकृतिक शोषणको ढोका खोलिदिएको छ।
दोजाम—जसलाई चाङ गाउँ पनि भनिन्छ—पहिल्यै सिमकोटसँग सडकमार्फत जोडिएको छ, जसले स्थानीयलाई बजारसम्मको पहुँच र दैनिक आवश्यकता पूरा गर्न सजिलो बनाएको छ। तर त्यसभन्दा बाहिर, उपत्यकाको सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन खासै केही गरिएको छैन।
गएको तीन वर्षमा केही साहसी यात्रुहरूले कोरोन उपत्यकाको सम्भावना देखेका थिए। उनीहरूले यसलाई भावी ट्रेकिङ गन्तव्यको रूपमा प्रवर्द्धन गर्न थालेका थिए। तर अहिले ती सपना डोजरको भारीले दबिन थालेका छन्।
यदि हुम्लाले साँच्चिकै दिगो विकास चाहन्छ भने, त्यो मानसिक विकासबाट सुरु हुनुपर्छ—कोरोन उपत्यकाजस्ता क्षेत्रहरू किन विशेष छन् भन्ने बुझ्ने चेतनाबाट। समयमै चेत नपुक्दा, कोरान उपत्यका पनि नेपालका हराएका प्राकृतिक र सांस्कृतिक निधिहरूको सूचीमा थपिनेछ।
अबिनाश लामा । ७ बैशाख २०८२, आईतवार १२:२४