हिउँमाथि कपडा बिछ्याएर गाडी सञ्चालन

दुई साताअघि परेको हिउँ नपग्लिएपछि हुम्लाको सिमकोटमा कपडा बिछ्याएर गाडी सञ्चालन गरिएको छ ।  हुम्लामा ७ माघदेखि हिउँ परेको थियो । साताभरी परेको हिउँ अझै पग्लिएको छैन । व्यवसायीहरूले हिउँ भएको ठाउँमा लिऊ र फेरुवा (उनको कपडा) बिछ्याएर गाडी सञ्चालन गरेका हुन् ।

सदरमुकाम सिमकोटदेखि खार्पुनाथसम्मको ११ किलोमिटर क्षेत्रमा गाडी गुड्न थालेको व्यवसायीले बताए । केही ठाउँमा स्थानीय बासिन्दाले पनि लिऊ र फेरुवा दिएको व्यवसायी चिन रावलले बताए । खार्पुनाथबाट सिमकोट आवतजावत गर्न समस्या भएपछि लिऊ र फेरुवा बिछ्याएर गाडी सञ्चालन गर्नुपरेको उनले बताए ।