सर्केगाड पालिकाले लोगो र पालिकागान बनाउने

हुम्ला,५ बैशाख । हुम्लाको सर्केगाड गाउँपालिकाले आफ्नो पालिका ‘गान र लोगो’ बनाउने भएको छ ।

पर्यटकीय क्षेत्रको प्रवर्द्धन, पालिकाको आफ्नो छुट्टै पहिचान झल्किने उद्देस्यका साथ आफ्नै पालिका ‘गान र लोगो’ बनाउन लागेको हो । गाउँ कार्यपालिकाको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी पालिका गान र लोगो बनाउन लागिएको पालिका उपाध्यक्ष चन्द्रसिंङ कार्किले बताए ।

पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनु पर्ने छ । खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तको अधिनमा रही दरखास्त दिन १५दिने सूचना जारी गरिएको सर्केगाड गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर रावतले बताए ।

उहाँका अनुसार छनोट भएको उत्कृष्ट लोगो डिजाइनकर्तालाई नगद ३० हजारसहित प्रमाणपत्र र उत्कृष्ट पालिका गान रचनाकारलाई नगद ४० हजारसहित कदर पत्र वितरण गरिने छ । लोगोमा प्रयोग भएका सङ्केतहरूको बारेमा डिजाइनरले संक्षिप्त व्याख्या समेत गर्नुपर्ने शर्त तोकिएको छ ।

हुम्लाका सात पालिकामध्ये आफ्नै पालिका गान र लोगो बनाउने सर्केगाड पलिका पहिलो पालिका हुने छ । पालिकाको पर्यटन, प्रवर्द्धन तथा ऐतिहासिकता जोगाउन आफ्नै लोगो र गान कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।