वर्षाले घर भत्किएपछि पाँच वर्षदेखि छाप्रोको वास

हुम्ला वर्षामा घर भत्किएपछि बनाउन नसकेर सर्केगाड गाउँपालिका–३ उनापानीका ७० वर्षीय कल्याण फडेरा दम्पती पाँच वर्षदेखि खरको छाप्रोमा बस्दै आएका छन् । चिसो सुरु भएसँगै सकस

थपिएको उनले बताए ।

पाँच वर्षअघि उनको घर भत्किएको थियो । त्यसपछि नयाँ घर बनाउन नसकेको उनले दुःखेसो गरे । ‘पैसा छैन । बुढो भएँ, कामधाम गर्न पनि सकिएन,’ कल्याणले भने, ‘नयाँ घर बनाउन सकिनँ, अनि गाउँ छोडेर जंगलछेउमै बसिरहेको छु ।’

घर भत्किएपछि केही महिना छिमेकीको घरमा बसेका थिए । तर, नयाँ घर बनाउन नसक्दा छिमेकीले पनि हेला गर्न थालेको उनले सुनाए । त्यसपछि गाउँ छोडेरै जंगल छेउमा बस्न थालेको उनले बताए । ‘राति बाघ, भालुको डर लाग्छ,’ उनले भने ।

चिसो सुरु भएसँगै खरको छाप्रोमा सकस हुन थालेको ६५ वर्षीया शिवकला फडेराले बताइन् । ‘ओढ्नेओछ्याउने लुगा पनि राम्रो छैन,’ शिवकलाले भनिन्, ‘दिउँसो त घाम ताप्छौँ, राति चिसो हुन्छ ।’

उनीहरूको एक छोरा थिए । उनी २० वर्ष अघि गाउँका साथीभाइसँगै काम गर्न भारत गएका थिए । तर, अहिलेसम्म फर्किएका छैनन् । छोराबारे उनीहरूलाई धेरै जानकारी पनि छैन । ‘अहिलेसम्म केही खबर आएको छैन,’ शिवकलाले भनिन् ।

वृद्धवृद्धा आँखा पनि कम देख्ने गरेका छन् । दिउँसो त बाहिरभित्र गर्छन्, तर राति भने समस्या हुने गरेको कल्याणले बताए । ‘कामधाम गर्न सकिँदैन, सरकारले दिने वृद्धभत्ताले नै गुजारा चलेको छ,’ कल्याणले भने ।

वर्षाले भत्किएको घर बनाउन कसैले सहयोग नगरेको उनीहरूको गुनासो छ । अहिले खरको छाप्रोमा बस्न सकस भएको उनीहरूको पीडा छ । घर बनाउनका लागि स्थानीय सरकार, जनप्रतिनिधिसँग आग्रह गरे पनि कसैले वास्ता नगरेको उनीहरूको दुःखेसो छ । ‘यो उमेरमा अरू त केही चाहिँदैन, बस्न घर भए हुन्थ्यो । राति सुत्न त पाइन्थ्यो,’ कल्याणले भने ।