पाँच किलो चामल किन्न सिडिओको सिफारिस

दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी ९सिडिओ० बाट सिफारिस लिनु परिरहेको छ ।

नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । ‘जिल्ला खाद्य सुरक्षा समितिले पाँच किलोभन्दा बढी नदिने निर्णय गरेको छ, सोहीअनुसार बिक्री गरिरहेका छौँ,’ विष्टले भने ।

सिडिओको नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष सिडिओ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमकोट बजारका बासिन्दा र कर्मचारीलाई पाँच किलोग्राम चामल बिक्री गर्ने तय गरेको छ ।

त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालयले सिफारिस दिने गरेको छ । सिडिओको हस्ताक्षर रहेको सिफारिस ‘कुपन’ लगेपछि मात्रै खाद्य संस्थानले पाँच किलो चामल बेच्ने गरेको छ । चामल कम भएकाले सबैलाई समान रूपमा बिक्री गर्न जिल्ला प्रशासनबाट सिफारिस लिने व्यवस्था गरिएको जनाएको छ ।

सिफारिस लिन सकस
जिल्ला प्रशासन कार्यालयबाट पाँच किलोग्राम चालम खरिदका लागि सिफारिस लिन सर्वसाधारणलाई सकस भएको छ । सदरमुकाम सिमकोटका बासिन्दा र कर्मचारीलाई रासन कार्डका आधारमा जिल्ला प्रशासनले सिफारिस दिने गरेको छ ।

तर, त्यसभन्दा बाहिरका बासिन्दालाई सिफारिस पाउन समस्या भएको छ । सदरमुकामबाहिरका खाद्य संस्थान डिपोमा चामल छैन । त्यसैले, सर्वसाधारण दिनभरि हिँडेर सिमकोट आउन थालेका छन् । उनीहरू सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयमा हारगुहार गर्दै आएका छन् । कुपनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको कार्यकक्षमा घुइँचो लाग्ने गरेको छ ।

गाउँका गोदाम रित्तै
सदरमुकाम सिमकोट डिपोबाट चामल बिक्री गर्न थालिएपछि गाउँका अन्य डिपो भने रित्ता छन् । संस्थान र ठेकेदारको लापरबाहीले चार महिनादेखि गाउँको डिपोमा चामल नभएको स्थानीय बासिन्दाले बताए । श्रीनगर, छपेला, सर्केगार्ड, दार्माको देउली, नाम्खाको याल्वाङ खाद्य डिपोमा चामल छैन । डिपोमा चामल ढुवानीका लागि सम्झौता भएको र केहीमा सम्झौता गर्ने क्रममा रहेको संस्थानले जनाएको छ ।

दार्माको देउली डिपोमा गतवर्ष नै ढुवानी गर्नुपर्ने एक सय ५० क्विन्टल चामल अझै पुगेको छैन । ‘गत मंसिरमा एक बोरा चामल मिलेको थियो, त्यसयता आएको छैन,’ चंखेली गाउँपालिका–१ का वडाध्यक्ष नन्दबहादुर बोहोराले भने । मुगुबाट ल्याउँदै गर्दा ठेकेदारले बाटोमै बिक्री गरेकाले देउली डिपोमा चामल नपुगेको बोहोराको भनाइ छ । ‘ठूल्ठूला नेताकै मान्छेले चामल ढुवानीको ठेक्का पाउँछन्, उनीहरू हामीले भनेको टेर्दैनन्,’ वडाध्यक्ष बोहराले भने ।

     कति छ चामल

समयमै चामल ढुवानी नभएपछि हुम्लामा समस्या भएको हो । खाद्य संस्थानका अनुसार सिमकोट डिपोमा पाँच सय २९ क्विन्टल चामल छ । त्यो पनि बुधबारदेखि बिक्री गर्न थालेकाले घटिसकेको संस्थानका प्रमुख रामबहादुर विष्टले बताए ।

संस्थानका अनुसार सुर्खेतबाट एक सय ४४ क्विन्टल र नेपालगन्जबाट आठ सय १६ क्विन्टल चामल समयमै ढुवानी नभएपछि अभाव भएको हो । त्यस्तै, सिमकोट डिपोका लागि साउन मसान्तभित्रै थप गरिएको नेपालगन्ज र सुर्खेतबाट एक÷एक हजार क्विन्टल चामल पनि हुम्ला पुगेको छैन ।