राउटे बालबालिका भन्छन् ‘पढ्न सिक्दै छौं, डक्टार नि बनौला ड्राइभर नि बनौला’

लेखबेसी नगरपालिका रातेखोलामा पढदै गरेको राउटे बालबालिकाहरु

सुर्खेत–विगतमा राउटे समुदायको बस्तीमा पुग्दा राउटे बालबालिकाहरुलाई नाम र फोटो खिच्दा रुपैयाँ माग्थे । अहिले उनीहरु नाम र फोटा खिच्दा खुलस्त भएर आफ्नो नाम बताउँछन् । यति मात्रै हैन् उनीहरु पढाईका लागि बस्तीदेखी टाढा पुगेर जोडी शिक्षकसंगै पढ्ने गरेका छन् ।

‘मुखियाले थाहा पायो भने रिसाउँछ’ गोलो घेरा बनाएर पढ्दै गरेको राउटे बालक विर्खबहादुर शाहीले भने, ‘पुस्ताले पढेन् अरुले पढेको देख्दा पढ्न मन लाग्छ तर हामी तिम्रो संस्कारभन्दा टाढै छौं । विस्तारै विस्तारै पढेर डाक्टर नि बनौंला ।’

लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेका राउटे समुदायका बालबालिकाहरु भेरी नदीको किनारामा कखरा, वान टु र एवीसीडी सिक्ने गरेका छन् । ‘हामीले धेरै पढयौं भने ड्राइभर वा डाक्टर जे पनि बन्न सक्छौं, शाहीले भने, ‘मुखियाले पढन दिदैनन् । उनले आफूहरुलाई पढन रहर भने नभएपनि विस्तारै पढेर डाक्टर र ड्राइभर बनौला नि ।’

एकैपटक अरु जाती जस्तो आफूहरु पढ्न नसक्ने भन्दै विस्तारै पढाईप्रति मन जाने विश्वास शाहीको छ । ‘यति–यति पानी, गंङ्गै रानी र भकुण्डलाई काठले हिर्काउने खेल पनि खेल्यौं’ शाहीले थपे, ‘मास्टर्नी आएपछि सिकेका हौं । खेलमा घेरा भित्रकोले मामाघर जान्छु, अन्यत्र जान्छु भन्दा घेरा बाहिर जान नदिने नियम रहेछ । जब उसले पढन जान्छु भन्छ तबमात्र घेरा भित्र रहेकोलाई बाहिर जाने नियम पनि बनाएका छौं ।’

सोसेकद्धारा राखिएका राउटे परियोजनाका शिक्षक दुर्गा खत्री र लालबहादुर खत्री उत्साही देखिएका छन् । राउटे बालबालिकाको स्वभावमा केहि मात्रामा परिवर्तन ल्याउन सकिएको दुर्गा खत्री बताउँछिन् । हामीले विगत नौ महिनादेखि राउटे बालबालिकालाई नुहाउन सिकाएका छौं, नाम भन्न सिकाएका छौं’ खत्री भन्छिन्, ‘अथक प्रयासपछि अक्षर भन्न र लेख्न सिकाउनु हाम्रो लागि ठूलो उपलव्धी भएको छ ।’ राउटे बस्ती जहाँ–जहाँ पुग्छ खत्री दम्पत्ती पनि त्यहीँ पुगेर बालबालिकाहरुलाई पढाउने र हेरचाह गर्ने गर्छन् ।

‘जथाभावी पैसा माग्नुहुन्न भन्ने पनि सिकाएका छौं’ खत्रीले भनिन्, ‘विगतको तुलनामा राउटे बालबालिका विभिन्न गित संगीत सुन्ने र गाउने बानी पारिरहेको छौं ।’ पहिलेको तुलनमा राउटेहरुको घर सुधार भएको छ । बाहिरी रुपमा उस्तै देखिएपनि अहिले राउटेहरु हरेक दिन लिपपोत गर्ने गर्दछन् । उनीहरु विगतमा जस्तो भूमि छ उस्तैमा सुत्ने गरेपनि अहिले भने व्यवस्थित रुपमा जमिनलाई सम्याउने, माटोे थप्ने र त्यसलाई दबाएर त्यसमाथि सुत्ने गरेका छन् । राउटेलाई सुधार गर्न जथाभावी राहत बाँडने काम गर्न नहुने भनाई शिक्षक लालबहादुर खत्रीको छ । ‘केहि दिन पहिले एक जनाले ४२ ओटा फाइबर सिरक वितरण गरे’ खत्री भन्छन् ‘राउटेले कसैले पनि घरभित्र राखेनन् । उनीहरुले घरभित्र नराख्ने भनेर सबै विक्री गरेछन् ।’