कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवातमा मौका नपाउने भएका छन्।

प्रशिक्षक फर्नान्डो सान्तोषले यसअघि अन्तिम १६ को खेलमै उतारेको टोलीलाई रोजाइमा राखेका हुन्।

स्विट्जरल्याण्डविरुद्धको टोलीमा एक मात्रै परिवर्तन गरिएको छ। तर अग्र पंक्तिमा आज पनि फेलिक्स, रामोस र ब्रुनोले निरन्तरता पाएका छन्।

सेन्टर मिडफिल्डमा कार्भाल्होको स्थानमा ओटाभिओले मौका पाएका छन्। डिफेन्डर र गोलरक्षक पनि नकआउटकै निरन्तरता छ। यसअघि अन्तिम १६ को खेलमा रोनाल्डोले ७३ औं मिनेटमा फेलिक्सको स्थानमा मौका पाएका थिए। तर उनले गोल भने गर्न सकेनन्।

त्यही खेलमा उनलाई बेन्चमा राख्दा मौका पाएका रामोसले भने ह्याट्रिक गरेका थिए। स्विट्जरल्याण्डविरुद्ध रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगलले ६–१ को जित हात पारेको थियो। जारी विश्वकपमा दोस्रो फराकिलो जित हो।

रोनाल्डोलाई बेञ्चमा राख्दा रिसाएकी थिइन् प्रेमिका

मंगलबार राती स्विट्जरल्याण्डविरूद्धको खेलमा आफ्नो प्रेमी क्रिस्टियानो रोनाल्डोलाई छोटो समयका लागि मात्र मैदानमा उतार्ने निर्णयप्रति जर्जिना रोड्रिगेजले आपत्ति जनाएकी थिइन्।

आजको खेलमा रोनाल्डोलाई खेलाउने आशा गरेकी उनकी प्रेमिकाले कस्तो आक्रोश व्यक्त गर्ने हुन्, त्यो हेर्न बाँकी नै छ।

२८ वर्षीय मोडल रोड्रिगेज लामो समयदेखि रोनाल्डोसँग ‘लभिङ’मा छिन्। रोनाल्डोलाई प्लेइङ–११ मा मौका नदिएको खेलमा पोर्चुगल ६–१ गोलले विजयी भएको थियो।

त्यतिबेला ३७ वर्षीय रोनाल्डो बेञ्चमा बसेका थिए र उनको अनुहारमा निरासा झल्किन्थ्यो।

रोड्रिगेजले सोसल मिडियामा आक्रोस पोख्दै भनिन्, ‘हामीले ९० मिनेटसम्म विश्वको उत्कृष्ट खेलाडीको खेलको मजा लिन पाएनौं। यो निकै लज्जाको विषय हो।’

उनले पोर्चुगलको राष्ट्रिय गान बजेपछि मिडियाले मैदान बाहिर रहेका रोनाल्डोको तस्बिर खिच्न ध्यान केन्द्रीत गरेको बताइन्।

उनले रोनाल्डोलाई नखेलाउने निर्णयप्रति असन्तुष्टी जनाउँदै भनिन्, ‘फ्यानहरूले तपाईको नाम चिच्याउन छोडेका थिएनन्।’

उनले भगवान र प्रशिक्षक फर्नान्डो सान्तोषले न्याय गर्ने भन्दै लेखेकी छिन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले हात समातेर हामीलाई अर्को रात (खेल) मा कम्पन गराउनु हुनेछ।’

मंगलबार राती रोनाल्डोको ठाउँ लिएका गोन्सालो रामोसले ६–१ ले विजयी खेलमा ह्याट्रिक गोल गरेका थिए। रोनाल्डोलाई अन्तिम १७ मिनेटमा मैदान प्रवेश गराइदिएको थियो।