नाम्खा पठाइँदै सात सय क्विन्टल चामल

चीनसँगको हिल्सा र लाप्चा बन्द हुँदा खाद्यान्न अभाव भएको नाम्खा गाउँपालिकामा सदरमुकामबाट चामल पठाउन लागिएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले तत्कालका लागि सात सय क्विन्टल चामल पठाउन लागिएको जनाएको छ ।

नाम्खाका धेरै गाउँमा मंसिरदेखि आवतजावत बन्द हुन्छ । हिमपातले बाटो अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या हुने गरेको छ । त्यसका लागि मंसिरअघि नै चामल पठाउन स्थानीय बासिन्दाले माग गरेका थिए । हिउँदका लागि अहिले नै उपभोग्य वस्तुको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

यो वर्षको हिउँदका लागि स्थानीय बासिन्दाले दुई हजार क्विन्टल चामलको माग गरेका थिए । अहिले सात सय क्विन्टल उपलब्ध गराउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । यसले केही मात्रामा भए पनि नाम्खावासीलाई राहत महसुस हुने उनको भनाइ छ ।