रित्तिँदै हिमालपारिका गाउँ

– १० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे । तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन् । हाल १७ घरपरिवार मात्र बचेका छन् ।
– गाउँमा स्वास्थ्य संस्था छैनन्, सदरमुकाम पुग्न तीन दिन लाग्छ
– जाङको उत्पादनले तीन महिना मात्र धान्छ 

राष्ट्रिय राजनीतिमा वेलावेला चर्चामा आइरहने भूभाग हो, चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको लिमी उपत्यका । नाम्खा गाउँपालिका– ६ मा पर्ने जाङ, तिल र हल्जी गाउँमा खाद्यान्न र औषधिको जहिल्यै अभाव हुन्छ । वेलावेला चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको भन्दै संसद्मा समेत आवाज उठ्छ । तर, सीमा सुरक्षाका लागि राज्यका निकाय छैनन् । बरु, सीमारक्षकका रूपमा रहेको जाङ गाउँ रित्तिँदै गएको छ ।

१० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे । तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन् । जाङमा हाल १७ घरपरिवार मात्र बचेका छन् ।

‘छोराछोरी पढाउन, उपचार गर्न सहर नै धाउनुपर्छ । गाउँमा बसेर मात्र के गर्नु ? खाद्यान्नसमेत पाउँदैन । त्यही भएर सबै गाउँ छोडेर सहर हिँडे,’ स्थानीय कुन्चोक तामाङले भने, ‘अहिले गाउँमा १७ घर मात्र बाँकी छन् । त्यसमा पनि धेरैजसो सहर हिँड्ने तरखरमा छन् । अब पाँच–सात घर बाँकी रहन्छन् कि ?’

कुन्चोकका अनुसार यहाँबाट बसाइँ सरेकाहरू धेरैजसो काठमाडौं गएका छन् । बसाइँ सर्न बाँकी रहेकामध्ये पनि धेरैजसोले चीनको ताक्लाकोटमा होटेल, पसल थापेका छन्, केही त्यहीँ मजदुरी गर्छन् ।

कतिसम्म भने स्थानीय तहका जनप्रतिनिधिसमेत राजीनामा दिएर गाउँ छाड्ने तयारीमा छन् । जाँङबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित पुटी लामाले राजीनामा दिएर सहर जाने जानकारी गराएको नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार जाँङ गाउँस्थित फेलग्यालिङ गुम्बाको सामानसमेत काठमाडौं लग्नका लागि वडामा निवेदन आएको छ ।

‘जाँङबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित पुटी लामाले राजीनामा दिएर जान्छु भनेका छन् । जाँङमै रहेको फेलग्यालिङ गुम्बाको सामानसमेत काठमाडौं लग्नका लागि वडामा निवेदन आएको छ, वडाध्यक्ष तामाङले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माणले प्राथमिकता पाएको छ । शिक्षा, स्वास्थ्यसहितका आधारभूत आवश्यकता गाउँमै पूरा गर्न लागिपरेका छौँ । तर, स्थानीय बासिन्दा एकपछि अर्को बसाइँ सर्दै जान थालेपछि जाँङ गाउँ नै खाली हुन थालेको छ । यसले चिन्तित बनाएको छ ।’

गाउँमा स्वास्थ्य संस्था छैनन्, सदरमुकाम पुग्न तीन दिन लाग्छ 
जाँङ गाउँ आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छ । स्वास्थ्य इकाइसमेत छैन । हल्जी गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाइबाट औषधिमूलो गर्न पनि आउजाउ गर्न चार घन्टा लाग्छ । त्यहाँ पनि अहेब र अनमी मात्र कार्यरत छन् ।

चिकित्सकसहितको सेवाका लागि जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्छ । जहाँ पुग्न हिँडेर तीन दिन लाग्छ । १२ महिनामा दुई महिना मात्र जिप चल्छन् । अरू वेला पैदल नै जानुपर्छ । सिमकोटमा जिल्ला अस्पताल छ । त्यहाँ पनि उपचार हुन नकसके हेलिकोप्टर चार्टर गरेर नेपालगन्ज वा काठमाडौं जानुपर्छ । सिमकोट विमानस्थलमा जहाज आउने टुंगो हुँदैन । सदरमुकाम सिमकोटदेखि लिमीको कच्ची सडक पनि पहिरो तथा खोलामा बाढी आएर वेलावेला अवरुद्ध हुने गरेको जाँङका फुर्बु तामाङले बताए ।

जाँङको उत्पादनले तीन महिना मात्र धान्छ 
जाँङमा आलु र उवा फल्छ । दाल, चामल, तेल किनेरै खानुपर्छ । गाउँमा उत्पादन भएको आलु, उवाले पनि मुस्किले तीन महिना धान्छ । त्यही भएर जाँङ मात्र होइन, लिमी उपत्यकामा जहिल्यै खाद्यान्न अभाव हुन्छ ।

सरकारी अनुदानको चामल समयमा पुग्दैन, चीनसँगको नाका हिल्सा हुँदै ताक्लाकोट पुगेर खाद्यान्न किनेर खानुपर्छ । जाँङबाट ताक्लाकोट पुग्न पनि पैदल दुई दिन लाग्छ । यहाँका बासिन्दाले ताक्लाकोटबाट चामल, पिठो, मैदा, भोटेचिया, घिउलगायत दैनिक उपभोग्य वस्तु किन्ने गरेको स्थानीय कुन्चोक तामाङले बताए । यहाँका बासिन्दाले ताक्लाकोटमा होटेल, पसल थापेका छन् भने केही मजदुरी पनि गर्छन् ।

हजार वर्ष पुरानो गुम्बा जोगाउने हल्जी गाउँ
हजार वर्ष पुरानो हल्जी गुम्बाको संरक्षण गर्न हल्जीका स्थानीय लागिपरेका छन् । यहाँका ९६ घरपरिवार हल्जी गुम्बाको संरक्षण गरेर बसेका छन् । धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने हल्जी गुम्बाको संरक्षणले बसाइँसराइ कतै नगरेको नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘हल्जीका गाउँलेले नै गुम्बाको रेखदेख गरेका छन्,’ तामाङले भने ।

गाउँ रित्तिन थालेपछि आधारभूत विद्यालय पनि बन्द 
जाँङ गाउँ रित्तिन थालेपछि विद्यालय पनि बन्द भएको छ । कक्षा ३ सम्म पढाइ हुने भृकुटी आधारभूत विद्यालय थियो । तर, स्थानीयले गाउँ छाड्न थालेपछि यो शैक्षिक सत्रमा दुई विद्यार्थी मात्र भर्नाका लागि आएपछि विद्यालय नै बन्द गरिएको नाम्खा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनराज बुढाले बताए । उनका अनुसार भृकुटी माविका शिक्षक राजबहादुर ऐडीलाई केर्मीमा रहेको तातापानी आधारभूत विद्यालय र शिक्षक सन्तबहादुर रोकायालाई हल्जीमा रहेको सुनखानी आधारभूत विद्यालयमा खटाइएको छ । सुनखानीमा भने ५१ विद्यार्थी छन् । सुनखानीमा यस वर्षबाट कक्षा ६ सम्म पठनपाठन भइरहेको छ । Naya Patrika Daily