छोरी

दल बहादुर शाही

हुम्ला

छोरी हुन् घरकी पवित्र वसुधा धर्मज्ञकी धाम हुन्
छोरी पूर्वज भित्र दीर्घ वसती वंशावली नाम हुन्
छोरी नै जननी समान जनकी सौभाग्य हुन् वंशकी
छोरी हिम्मत हुन् समस्त कुलकी चैतन्य हुन् अंशकी
।।१।।
छोरीको अपहेलना गरिदिने पुस्तावली सत्रु हुन्
छोरीको महिमा उचो बुझिदिने सद्भावका मित्र हुन्
छोरी नै गनुँ चारधामसरिकी सन्तानमा पावनी
धर्तीको अपमान गर्न कसिने हुन् मानका बैगुनी
।।२।।
आमा आज हुने हिजो अवनिकी छोरी कसैकी थिइन्
बुझ्दैनौ किन आज यत्ति जन हो के रूपकी के थिइन्
छोरीको मनमा हुँदैन कुभलो सम्मानकी पात्र हुन्
छोरी सन्ततिकी अनन्य गरिमा प‍ौरस्त्यकी शास्त्र हुन्
।।३।।
छोरी अग्रज हुन् सधैँ संस्कृतिकी संस्कार देखाउने
छोरी पाठक हुन् सुधार कुलकी सन्मार्ग सम्झाउने
छोरीको पदमार्ग चिन्न नसके के बाँच्नु बेकार हो
छोरीको सुख दुःख बुझ्न नसके बाँचेर धिक्कार हो
।।४।।
सीता पासङ पारिजात भृकुटी छोरी भए तापनि
पक्कै हुन् घरमा कुनै मनुजकी आमा बुहारी पनि
छोरी आँगन भित्रकी किरण हुन् उस्तै उज्यालो रवि
छोराको पथ हो अझैँ भनुँ भने मात्रै गृहस्थी छवि
।।५।।