स्वास्थ्य जाँचविनै हुम्ला प्रवेश गर्नेको घुइँचो

कोरोना संक्रमणको जोखिम बढ्दै गएको वेला स्वास्थ्य जाँचविनै दैनिक दर्जनौँ संख्यामा मानिस हुम्ला प्रवेश गर्न थालेका छन्।

रोजगारी र अन्य कामले भारत र देशका विभिन्न जिल्लामा रहेका नागरिक लकडाउन लम्बिँदै जाँदा जिल्ला प्रवेश गर्ने क्रम बढेको छ। तर, हुम्लाका चारवटै गाउँपालिकाले बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न कुनै तयारी गरेका छैनन्। हुम्लाका कुनै पनि गाउँमा न त हेल्थडेक्स तयार छन् न त क्वारेन्टाइन नै।

चंखेली, सर्केगार्ड र ताजाकोट गाउँपालिकाका जनप्रतिनिधिले  आफूहरूलाई कुनै जानकारी नै नगराई बाहिरबाट नागरिक जिल्ला भित्रिरहेका बताए। ‘चेकजाँचविना जिल्ला भित्रिँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ,’ ताजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले भने।

कोभिड– १९ को पिसिआर परीक्षण गरेर नागरिकलाई जिल्ला भित्र्याउनुपर्ने भए पनि प्रतिनिधिसभा सदस्य रंगमती शाहीले स्थानीय तहसँग कुनै समन्वय नै नगरी नागरिकलाई जिल्ला पठाउने गरेको मल्लको आरोप छ। ‘उहाँले यसरी विनाजानकारी मानिस पठाउँदा हामीलाई निकै समस्या भएको छ,’ उनले भने।

चंखेली गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकालाई जानकारी नदिई काठमाडौंबाट सीधै गाडीमा हालेर मानिसलाई घर पठाउँदा समस्या भएको बताए। ‘गाउँपालिकाले बाहिरबाट आएकालाई राख्ने कुनै पूर्वतयारी नै गरेको छैन,’ उनले भने।

मुगुको गमगडी हुँदै हुम्लाको चंखेली, अदानचुली र सर्केगार्ड गाउँपालिकामा विगत केही दिनयता दुई सय ९४ जना प्रवेश गरेका हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए।