अत्याधिक चिसोले हुम्लामा बिरामी बढे, स्वास्थ्य चौकीमा औषधी अभाव

अत्याधिक चिसोका कारण हुम्ला जिल्ला अस्पतालमा बिरामी बढ्न थालेका छन् । एक्कासी चिसो बढेपछि अस्पातल आउने बिरामीको संख्या बढ्न थालेको हो ।

जिल्ला अस्पतालका डाक्टर नबिन रोकायाका अनुसार तिहार सकिए लगत्तै अस्पातलमा बिरामीको भिडभाड बढेको छ । टाढाटाढा गाउँबाट समेत बिरामी आउन थालेका छन् । दैनिक करिब ५०/६० बिरामी आउने गरेकोमा आजभोली कुनै दिन एक सय भन्दा बढी आउने गरेका छन् । आइतबार मात्रै एक सय पाँच जना बिरामी आएकाले बेलुका ६ बजे सम्म ओपिडी खुला गर्नुपरेको रोकायाले बताए ।
अस्पातलमा आउने मध्ये अधिकांशमा दम, हातखुट्टा भाँचिएका, श्वासप्रस्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यचौकीमा औषधी अभाव
जिल्ला अस्पताल सँगै ग्रामिण भेगका स्वास्थ्य चौकीहरुमा समेत बिरामी बढ्न थालेका छन् । बिरामी बढी आउन थालेपछि स्वास्थ्य चौकीमा औषधी अभाव हुन थालेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने औषधी मध्ये झण्डै आधा प्रकारका औषधी मात्रै मौज्दात छ ।

जिल्ला अस्पतालमा प्रयाप्त मौज्दात नभए पनि तत्कालका लागि औषधीको समस्या नरहेको रोेकायाले बताए । ‘हाल हामीसँग जिल्ला अस्पतालका लागि लगभग पुग्ने अवस्था छ तर स्वास्थ चौकीमा पठाउन सक्ने अवस्था छैन’ रोकायाले भने, ‘गाउँका स्वास्थ्य चौकीमा औषधी नभएकाले अवस्था नाजुक छ ।’

स्वास्थ्य चौकीका लागी गाउँपालिकाले पनि खरिद गर्नु पर्ने भएपनि खरिदमा ध्यान नदिएको उनको भनाइ छ । प्रदेश मेडिकल स्टोरबाट ढुवानी गर्ने निर्णय भएकाले औषधीको माग संकलन भईरहेको छ । जिल्ला अस्पतालबाट माग गइसकेको छ ।