पाखोमा गाडेपछि सयौँ पोल अलपत्र

डोल्पा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र निर्माण व्यवसायीले जथाभाबी विद्युत् पोल गाडेका छन् । टाढा–टाढाका गाउँमा पु¥याउनुपर्ने पोल नजिकको अनावश्यक ठाउँमा गाडिएपछि अलपत्र परेका छन् ।  स्थानीय तहमा सञ्चालित लघु जलविद्युत् विस्तारका लागि विद्युत्का पोल माग गरिएका थिए । त्रिपुरासुन्दरी नगरपालिकाका लिकु, पहाडा, रसी तथा काइके गाउँपालिकाको सहरतारा, लावनलगायतका बस्तीका लागि ६ सय ५० पोल खरिद गरिएको थियो ।

तर, विद्युत्का कर्मचारी र निर्माण कम्पनीले अनावश्यक स्थानमा पोल गाडेको प्रदेश सांसद वीरबहादुर शाहीले बताए । पोल ल्याउन पहल गरेका सांसद शाहीले भने, ‘जुन ठाउँका लागि माग गरिएको हो, त्यहाँ पुगेका छैनन् । जहाँ आवश्यक छैन, त्यहाँ गाडिएका छन् ।’ स्थानीय बासिन्दाका अनुसार मुड्केचुला गाउँपालिकाको कालिका तथा त्रिपुरासुन्दरी नगरपालिकाका त्रिपुराकोट, चुँगाड, अर्निचौरलगायत ठाउँमा जथाभावी गाडिएको छ ।

केन्द्रीय प्रसारण लाइनका लागि विद्युत्का पोल गाडिएको नेपाल विद्युत् प्राधिकरण डोल्पा शाखाले जनाएको छ । तर, राष्ट्रिय प्रसारण लाइन कहिले विस्तार हुन्छ भन्ने टुंगो लागेको छैन । ‘केन्द्रीय प्रसारण लाइनको टुंगो छैन, त्यसका नाममा जथाभाबी गाडिएको छ,’ सांसद शाहीले भने, ‘दुर्गमका बासिन्दालाई उज्यालो पुग्ने ठाउँमा पोल छैनन् ।’

नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण शाखाका इन्जिनियर शंकरसिंह ठकुरीले समन्वय नहुँदा समस्या भएको बताए । सांसद शाही र प्राधिकरणबीच समन्वयको अभावले विद्युत् पोल अन्यत्र गाडिएको उनको भनाइ छ । ‘अझै पनि पोल गाड्न बाँकी छ । माग गरेको ठाउँमा पु¥याउनेछौँ,’ इन्जिनियर ठकुरीले भने ।  विद्युत् पोलका लागि खैरावाङ निर्माण सेवा र सिद्धिविनायक निर्माण सेवासँग सम्झौता भएको थियो । विद्युत् पोल खरिदका लागि दुई करोड ८४ लाख विनियोजन गरिएको थियो । तर, अधिकांश पोल अनावश्यक ठाउँमा गाडिएको स्थानीय बासिन्दाले बताएका छन् ।