भारतीय दादागिरी : अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान !

काठमाडौं । भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा जेट विमान उडाइएका छन् ।

मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन् । केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेको बताएका छन् ।

आकाशमा विमान लस्करै उडेको प्रहरीले पनि देखेका थिए । इलका प्रहरी कार्यालय विनायका असई लक्ष्मण बिकले पनि आकाशमा साँझतिर रकेट जस्तै देखिने गरी लस्करै उडेको बताए ।

बिकले भने, ”हाम्रा केटाहरुले आकाशमा लस्करै रकेटजस्तै गरी उडेका देखेका थिए ।” उनले रकेटको जति गति नभएको बताए । आफूहरुले माथि जानकारी गराइरहेको भन्दै पछि कुरा गराैला भनेर फोन राखेका थिए ।

लिपुलेक-कालापानीमाथिको अतिक्रमणलाई लिएर अछाममा पनि विरोध प्रदर्शन भइरहेका छन् । आजमात्रै जिल्लाका विभिन्‍न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो । त्यसैगरी नेकपा कार्यकर्ताहरुले भारतीय नक्सा पनि जलाइएको थियो ।

सीमा मिचिएको विषयमा विरोध भएकोले भारतले सुदूरपश्चिममा हवाई गस्ती गरेको अनुमान गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयले भने यसबारे केही बताएको छैन । प्रत्यक्षदर्शीका अनुसार पूर्वअछामबाट देखिएका विमानहरु लस्करै पूर्वअछाम पुगेर उत्तर मोडेर फर्किएका छन् ।