सुनसान देखिने हुम्लामा बढ्यो चुनावी सरगर्मी

हुम्ला- प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै हुम्लामा चुनावी माहोल सुरु भएको छ। यससँगै सुनसान देखिएको हुम्ला जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको हो।

निर्वाचन हुन ३३  दिन बाँकी रहेको वेला हुम्ला जिल्लामा नेताहरू जिल्ला भित्रिन थालेका छन्। सतागठबन्धनका नेता र पतिपक्ष दल एमालेका नेताहरू धमाधम जिल्ला भित्रिन थालेका हुन्। एमालेबाट  प्रतिनिधिसभामा टिकट पाएका दल रावल सोमबार तारा एयरको जहाजबाट जिल्ला पुगिसकेका छन्।

त्यस्तै, उनका प्रतिस्पर्धी सत्तागठबन्धनका उम्मेदवार छिरिङडम्डुल लामा कार्चेन शुक्रबार जिल्ला आउने कार्यक्रम तय भएको छ। प्रदेश (क) का एमालेबाट उम्मेदवार पाएका दल फडेरा र प्रदेश (ख) उम्मेदवार छक्कबहादुर लामा सीता एयरबाट जिल्ला पुगिसकेका छन्।

यस्तै, सत्तागठबन्धनका प्रदेश (ख) उम्मेदवार जीवनबहादुर शाही पनि समिट एयरको जहाजबाट जिल्ला भित्रिएका छन् भने माओवादीनिकट नेता र उम्मेदवार प्रदेश (क) का रणसिंह परियार र प्रतिनिधिसभा सदस्य उम्मेदवार छिरिङडम्डुल लामा कार्चेन भित्रिएपछि चहलपहल बढ्नेछ।