रिगललाई आममाफी : दशैं मनाएर फर्केजस्तो!

कार्तिक,१६ काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल ढकाललाई दशैं विदामा घर आएर जेल फर्केजस्तो भएको छ । मानिस हत्या जस्तो जघन्य अपराधमा संलग्न रिगल ढकालले पाएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि उनलाई यस्तो अवस्था आएको हो ।

नेपालगंजका चेतन मानन्धरलाई व्यस्त बजारमा दिनदहाडै खुडा प्रहार गरी हत्या गरेका योगराज ढकाल रिगललाई संविधान दिवसका दिन कैद मिनाहा गर्ने निर्णय गर्दै राष्ट्रपतिद्वारा जेल मुक्त गरिएको थियो ।

ढकाललाई जेल मुक्त गरेपछि उक्त निर्णयको विरुद्ध चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा मुद्दा दिएकी थिइन ।

उक्त मुद्दाको न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

उक्त आदेश संगसंगै अपराध कार्यमा संलग्न ढकाललाई तत्काल पक्राउ गर्न समेत आदेश भएको छ ।

(साभार प्रेस घर अनलाइन बाट)