काँग्रेस निकट पत्रकारको अधिवेशनमा पत्रकारले भांचे माइक !

सुर्खेत,२१ पुस ।   प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन आज बिहीवार बिहान ८ बजेदेखि शुरु हुने भनिएको थियो । प्रतिनिधि विवादका कारण अधिवेशन झण्डै अढाइ घण्टा ढिला शुरु भयो ।
कालीकोट, हुम्ला र रुकुम पश्चिम जिल्ला कार्य समितिले पठाएका नामहरू केन्द्रीय समितिले आफ्नो तजबिजमा हटाएको भन्दै एकथरी प्रतिनिधिको समूह आक्रोशित देखिन्थ्यो । विवाद नसल्टाएसम्म अधिवेशन चल्न नदिने बताइरहेका थिए ।

 

प्रतिनिधिको नामावली सार्वजनिक गरेपछि मात्र उद्घाटन सत्र शुरु गर्ने सहमति जुट्यो । तर, जिल्लाले पठाएका नाम नपरेपछि आक्रोशित पत्रकारले रोष्टम घेराउ गरे । विवाद बढ्दै जाँदा हुम्लाका जनकबहादुर शाहीले माइक भाँचिदिए ।

अतिथि आसनग्रहण चल्दै थियो । त्यतिबेला पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मिनेन्द्र रिजाल, सुर्खेत २ का प्रतिनिधिसभा सदस्य हृदयराम थानी, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आसन ग्रहण गरिसकेका थिए । माइक भाँच्नुका साथै माइकको तार बन्द गरिदिएपछि दुई पक्षबीच हात हाला-हालको अवस्था सिर्जना भयो ।


ADVERTISMENT

सुर्खेत कांग्रेसका पूर्वसभापति कमलराज रेग्मीसहितका शेखर कोइराला समूहका नेताहरू ‘थानी सहभागी कार्यक्रम माइक भाँच्ने’ भन्दै कड्किए । सुर्खेतमा केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीका पार्टीभित्र अलग–अलग समूह छन् । हरेक जनवर्गीय संगठनहरूमा खड्का र थानी पक्षधरबीच नेतृत्व हत्याउने होडबाजी चल्ने गर्दछ । त्यही विवाद बिहीवार युनियनको प्रदेश अधिवेशनमा पनि छताछुल्ल भयो ।

विवादको अन्तर्य प्रमुख अतिथि

Vianet communicationसतहमा प्रतिनिधि विवाद देखिए पनि विवादको अन्तर्य भने अर्कै छ । खड्कानिकट पत्रकारहरूले सुर्खेतमा प्रदेश अधिवेशन गरिरहँदा पार्टी उपसभापति खड्कालाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरोस् भन्ने चाहेका थिए । लम्साल नेतृत्वको केन्द्रीय समितिले पार्टीको केन्द्रीय समिति बैठक हुँदा खड्काले नभ्याउने भन्दै उनलाई प्रदेश नं १ वा मधेश प्रदेशमा प्रमुख अतिथि बनाउने भन्दै डा.मिनेन्द्र रिजाललाई निम्तो गर्‍यो ।

खड्कानिकट पत्रकारहरूले यदि उपसभापति नभए पार्टी केन्द्रीय सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाहीलाई प्रमुख अतिथि बनाउन प्रस्ताव गरेका थिए । ‘पार्टीको मर्यादाक्रममै रहेका नेतालाई बाइपास गरी नेतृत्वको हुर्मत लिने काम भयो, त्यसप्रति हाम्रो आपत्ति छ,’ खड्कानिकट पत्रकार नगेन्द्र उपाध्यायले भने ।

अतिथिमा आफ्नो पक्षलाई बाइपास गरेको भन्दै खड्कानिकट पत्रकारहरू अधिवेशन स्थगित गर्ने, सम्भव नभए होहल्ला गर्न मनस्थितिमा पुगिसकेका थिए । ‘उपसभापतिकै गृहजिल्लामा युनियनको अधिवेशन भइरहँदा प्रमुख अतिथिका सन्दर्भमा खड्कासँग समन्वय गरिनुपर्थ्यो, पार्टीका प्रदेश सभापतिलाई बोलाउनुपर्थ्यो, मुख्यमन्त्रीलाई बोलाउनुपर्छ भन्यौँ, उहाँहरू तयार हुनुभएन,’ युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपानेले भने, ‘केन्द्रीय समितिले जिल्लाले पठाएका प्रतिनिधिको नाम काटेपछि विवाद सिर्जना भयो, अतिथिहरू एकलौटी बोलाइयो ।’

युनियनका केन्द्रीय उपमहासचिव कमल पन्तले पार्टीका प्रदेश सभापति ललितजंग शाहीलाई पत्राचार गरिएको बताए । उनले भने, ‘मुख्यमन्त्रीका हकमा डा.मिनेन्द्र रिजाललाई बोलाइसकेपछि मर्यादाक्रम तलमाथि हुन्छ भनेर नबोलाएको हो, अन्य नेताहरूलाई बोलाएका हौँ, अतिथिको विवाद होइन ।’

लोकान्तर बाट साभार