हुम्लामा कोरोना नआओस् भन्ने कामना (क्याङछयाक) गर्दै घिस्रिँदै युवायुवती पुगे रलिङ गुम्बा

हुम्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै प्रसिद्ध रलिङ गुम्बामा पूजाआजा गरिएको छ । सिमकोट गाउँपालिका-४ स्थित बुराउँसे गाउँका १० युवायुवती प्रार्थना गर्दै रलिङ गुम्बा पुगेर पूजाआजा गरेका हुन् । कर्णाली प्रदेशका धेरै जिल्लामा कोभिड-१९ को संक्रमण देखिएको छ ।

सिमकोट गाउँपालिका–४ का स्थानीय प्रवीण लामाले ६ घन्टा पैदलयात्रामा पुगिने भए पनि १० जना युवायुवती प्रार्थना गर्दै एक साता लगाएर रलिङ गुम्बा पुगेर कोरोना संक्रमण नफैलियोस् भनी कामना गर्दै पूजाआजा गरेको जानकारी दिए । जसमा पाँच युवा र पाँच युवती थिए ।

प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन गुम्बामा सयौँ मानिस भेला भई पूजाआजा गर्ने गरे पनि यसपटक भने कमैको उपस्थित थियो । बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा रहेको रलिङ गुम्बालाई चीनको प्रसिद्ध मानसरोवरजस्तै महत्वको रूपमा लिइन्छ । चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्बामा स्वच्छ मनले ‘धन मागे धन दिने, मन मागे मन र अन्न मागे अन्न दिने’ जनविश्वास रहेको सिमकोट-४ की ७० वर्षीया सोनाम छेजुङ लामाले बताइन् ।

प्राचीनकालमा जुम्लाका राजा अशोक मल्लको पालामा लिखित ताम्रपत्र गुम्बामा भेटिएकाले गुम्बा ऐतिहासिक मानिन्छ । सयौँ वर्ष पुराना भगवान् गौतम बुद्धको मूर्ति, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौँरी, कुकुर, भेडा तथा अन्य पशुको आकृृति यो गुम्बाको मुख्य आकर्षण हो ।

जेठ पूर्णिमाका दिन जस्तो महाविपत्ति आए पनि भगवान् आउने हुँदा भक्तजन पूजाआजा गर्न जानैपर्ने बाध्यता रहेको स्थानीय छिरिङ लामाले बताए । चीनको मानसरोवर कैलाशजस्तै यो रलिङ गुम्बाको महत्व रहेकाले विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ । गुम्बाको चारैदिशाको ढुंगामा सुरक्षाका लागि चारवटा कुकुरको आकृतिसमेत रहेका छन् ।

नयाँ पत्रिकाबाट