मुहानमै बरफ जमेपछि हुम्लामा खानेपानी अभाव

हुम्ला सदरमुकाम सिमकोट लगायतका धारामा नै बरफ जम्न थालेपछि खानेपानीको अभाव भएको छ । तापक्रम माइनस १७ डिग्रिमा झरेकोले खानेपानी धारामै जमेको हो । खानेपानी जमेपछि बरफ नै पगालेर पिउनु पर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका – ४ का मिगुर लामा बताउँछन् ।

उनका अनुसार पानीका धाराहरु र पाइपमा बरफ जम्ने समस्या देखिएपछि तातोपानी तताएर पानीको पाइप र धारोमा तातोपानी हालेर बरफ पग्लाउनु पर्ने बाध्यता रहेको छ । चिसोले पानीको मुहानमा समेत बरफ जमेपछि सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको लामाले बताए ।

सदरमुकाम सिमकोट निजी तथा सार्वजनिक गरी ४ सय ८५ धारा रहेकोमा करिब ३ सय धारामा पानी आउन छोडेको सिमकोट खानेपानी तथा सरफाई उपभोक्ता समिति कार्यालयले जनाएको छ ।