प्रचार अभावमा पर्यटकीय सम्भावना बाेकेकाे हुम्ला ओझेलमा

हुम्ला प्रदेश नम्बर ६ को प्रवेशद्वारको रुपमा चिनिँदै आएको हुम्ला प्रचारप्रसारको पर्खाइमा छ । २ सय ७५ को हाराहारीमा हिमताल मात्र रहेको अनुमान गरिएको हुम्लामा अनगिन्ती पर्यटकीय स्थलहरु हुँदा समेत प्रचार प्रसारको अभावका कारण ओझेलमा पर्ने गरेको छ ।

हुम्ला जिल्लामा अथाहा पर्यटकीय सम्भावना भएपनि सरोकारवाला निकायाहरुले चिन्ता र चासो नदिँदा जिल्लाका अधिकांश पर्यटकीय स्थलहरु ओझेलमा पर्ने गरेका छन् । उतरी नाम्खा गाउँपालिकाका केही भेगमा पर्यटक लोभ्याउने सुन्दर हिमाल र हिमतालहरु रहेपनि प्रचारको अभावमा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्न नपाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । उनले भने– ‘वर्षेनी १३ हजार देखि १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्लामा आउने गरेका छन् । तर उनीहरुका लागि सडक सञ्जाल र उचित बासको व्यवस्था नभएपछि सिधै हेलिकप्टरबाट हिल्सा जाने गरेका छन् ।’

जिल्लाकै ठुलो झरना च्याछहरा ओझेलमा
उच्च हिमाली नाम्खा गाउँपालिकामा अन्तरगत च्याछहरा गाँउमा पर्ने जिल्लाकै ठुलो पर्यटकीय सम्भावना रहेको च्याछहरा झरना ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु सिमकोट विमान स्थललाई केन्द्र बिन्दु बनाएर सिधै हेलिकप्टरको माध्यमबाट हिल्सा पुग्ने गरेपछि पैदल हिँडेर जानेको संख्यामा कम हुँदै गएको स्थानीयहरुको दुखेसो छ । केही वर्ष यता पर्यटकहरु हेलिकप्टरबाट हिल्साको यात्रा गर्न थालेपछि हिँडेर जानेको संख्या घट्दै गएको स्थानीय छेपाक लामाले बताए । उनले नयाँ पत्रिका सँग भने – ‘हुम्लामा बौद्ध धर्मालाम्बीहरुको पवित्र ठुलाठुला गुम्बा विभिन्न हिमताल, झरनाहरु पर्यटकले देख्न समेत पाएका छैनन् । ‘

वर्षेनी १३ देखि १५ हजार सम्म भारतीय तिर्थालु कैलाश दर्शनमा आउँछन्
सिमकोट विमान स्थललाई मुख्य केन्द्र बिन्दु बनाउँदै प्रत्येक वर्ष भारतीय तिर्थालुहरु १३ हजार देखि १५ हजार सम्म हाराहारी भित्रिने गरेको तथ्याङ्गमा उल्लेख छ । सडक सञ्जाल नजोडिएपछि भारतीय तिर्थालु सिमकोट विमानस्थलबाट हिल्सा जाने गरेकोले नाम्खा गाउँपालिकाका अधिकांश होटेलहरु सुक्दै गएको स्थानीयहरुले बताएका छन् ।

प्रजाती वनस्पतीको संरक्षण नहुँदा बढी चोरी निकासी
जिल्लामा हाल प्राकृतिक सुन्दरता, अर्गानिक खाने कुरा, पृथक चालचलन देशकै अत्याधिक मिठो स्याऊ उत्पादन केन्द्रको रुपमा विकसित भएको पाइन्छ । पर्यटकीय स्थलहरु मात्रै नभई हुम्ला जिल्लाका अधिकांश बस्तीहरुमा यार्सागुम्बा, पाँचऔले, जटामसी, कटुकी, वनलसुन, लगायतका बहुमुल्य धेरै प्रजातिका वनस्पतीको प्रख्यात ठाउँको रुपमा हुम्लालाई लिएको पाइएको छ । यहाँ जडीबुटीको संरक्षण र प्रर्वद्धन नहँुदा चोरी निकासी बढ्दै गएको छ । जिल्लाका धेरै वनस्पती तथा जडिबुटीहरु चीनको ताम्लाकोट, नाका, दोजामको च्यवाँहाखोला नाका र चंखेली गाउँपालिकाको ५ नेप्काको टाँके नाकाबाट जडिबुटीको बढी चोरी निकासी हुने गरेको पाइएको छ ।

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत लिमी उपत्यकामा विश्वकै दुर्लभ मानिँदै आएको वनचौरी पाइने गरेको छ । लिमी उपत्यकालाई वनपैदावारका लागि अत्यन्तै महत्वपुर्ण गन्तव्य स्थलको रुपमा हेर्ने गरिएको छ । यहाँ हरेक वर्ष सयौँको संख्यामा पर्यकहरु घुम्ने गर्छन् । सरोकारवाला निकायले ध्यान नदिने हो भने यसको चोरी सिकारी हुने खतरा देखिएको स्थानीयहरुको गुनासो छ ।

दर्जनाैँ भन्दा बढी हिमालको पहिचान छैन
दर्जनाैँ भन्दा बढी संख्यामा रहेको हिमालहरु पहिचानविहीन बनेका छन् । हुम्ला जिल्ला सदरमुकाम सिमकोट आसपासमा मनै लोभ्याउने हिमालहरु भएपनि यसको कुनै पहिचान भने देखिएको छैनन् । जहाँ थुप्रै हिमालहरुले पर्यटक नजिकबाट नियाल्न चाहने हँुदा पनि प्रचार प्रसारको अभाव देखिएको छ । जिल्लाका पहिचान नभएका चंखेली गाउँपालिका अन्तरगत नेप्कामा आधा दर्जन हिमाल भएको स्थानीय बताउँछन् । गोरख हिमाल नामले चिनीने हिमाल चंखेली गाउँपालिका ५ नेप्का गाउँमा पर्ने हर्कधन तामाङका बताउँछन् । उनले भने– ‘वर्षेनी गोरख हिमाल चढ्नैका लागि ४ देखि ५ समुहमा पर्यटकहरु आउने गरेको छ ।’ जिल्लाका च्याङला हिमाल, पञ्चमुखी हिमाल लगायतका थुप्रै हिमालहरु ओझेलमा परेका छन् ।

प्रदेश नम्बर ६ को हुम्ला जिल्लामा सरोकारवाला निकायहरुले चिन्ता र चासो विषय नदिएपछि जिल्लाका थुप्रै मनरम दृश्यहरु ओझेलमा परेका छन् । सडक सञ्जाल पहुँच पुग्ने हो भने वर्षेनी ३० देखि ४० हजार पर्यटकहरु जिल्लामा भित्रिन सक्ने जिल्ला उद्योग बाणिज्यका अध्यक्ष नाम्गेल लामा (तामाङ) ले बताए ।