मानसरोवर चिहाउन लिमी

हजार वर्ष पुरानो गुम्बा
लिमी उपत्यकाको हल्जी गाउँमा एक हजार वर्ष पुरानोे हल्जी गुम्बा छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गुम्बाभित्र एक हजार वर्ष पुराना मूर्ति, बौद्ध धर्मसम्बन्धी सामान छन् । दुईतले मन्दिरको पहिलो तलामा प्रमुख मूर्ति छ । यहाँका सबै मूर्ति कलात्मक छन् । प्रत्येक घरका एकजना पुरुषले गुम्बाको काम गर्नुपर्ने नाम्खा गाउँपालिकाका खेराप तामाङले बताए । गुम्बा निर्माण हुुनुभन्दा पहिले नै प्रत्येक घरका एकजना पुरुषले पूजाआजालगायतका काम गर्नुपर्ने नियम थियो । यो नियम अहिले यथावत् छ, यो कसैले पनि तोडेका छैनन् । गुम्बामा पुर्खौंदेखिको सम्पत्ति छ । जुन करौडौँ मूल्यको छ । यो धनी गुम्बामध्ये पर्छ । प्रत्येक घरका एकजनाले यसको रेखदेख गर्ने चलन छ ।

दुर्लभ चरा
विश्वकै दुर्लभ र लोपोन्मुख चराहरू कालीकण्ठे सारस, चितुरमा भारद्वाज चरा यही उपत्यकामा फेला परेका छन् । उपत्यकाको माथिल्लो क्षेत्रमा ७० प्रजातिका चरा पाइन्छन् ।

हिमताल
च्याक्पालुङ, ग्याउखोला, छो, ल्याम्ज्योक र साक्यखोलाजस्ता विभिन्न स्थानबाट हिमाल नजिकै देखिन्छ । यी स्थानमा हिमाली रातो भालु, कस्तुरी मृग, हिमाली कालो भालु, नाउर, नायन, लिंकस, चितुवा, रातो फ्याउरो, तिब्बती फ्याउरो, फ्याउमुसो, जंगली कुकुर र वनचौँरी पनि देख्न सकिन्छ । वनचौँरी, वनघोडा, रातो भालु, चितुवा, वन कुकुरहरूको त बथान नै हेर्न सकिन्छ । हिमताल पनि यहीँ हेर्न सकिन्छ ।

१३० वर्ष पुरानो पाथी
पृथ्वीनारायण शाहको पालामा निर्माण गरिएको करिब एक सय ३० वर्ष पुरानो पाथी नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा भेटिएको छ । यो पाथीमा आठ माना अटाउने गरेको वडा अध्यक्ष पालजोर तामाङले बताए । वि.सं. १९४५ मा निर्माण गरिएको यो पाथीको नं. ८६ छ ।

उत्तरी हुम्लाको सुन्दर बस्ती, लिमी उपत्यका । वरिपरि पहाड, बीचमा समथर मैदानी भाग । मैदानको बीचबाट बग्ने कर्णाली नदी । अनि गुजुमुज्ज परम्परागत घरहरू । यही भेटिन्छन्, हजार वर्ष पुरानो गुम्बा । लिमी उपत्यका पुग्दा अर्कै संसार पुगेको भान हुन्छ ।

मानसरोवर देखिने गाउँ
चीनको तिब्बतस्थित मानसरोवर कैलाश पर्वत हुम्लाको लिमी लाप्चाबाट सहजै अवलोकन गर्न सकिन्छ । चीनको ताक्लाकोट हुँदै मानसरोवर यात्रा असहज भए पनि हुम्लाको लिमी लाप्चा नाकाबाट भने सजिलै गर्न सकिन्छ ।

 

कसरी पुग्ने ?
सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी पुगिन्छ । सिमकोटबाट दुई दिनजति गाउँमा वास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खानेकुरालगायतका सामान बोक्नुपर्छ । यी दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ ।

के–के बोक्नुपर्छ ?
लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, टे«किङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।

अमूल्य कोइचिन बक्खु
यहाँका उत्पादन लोभ्याउने खालका छन् । करिब एक सयको सिस्नोको धुलोदेखि करिब एक करोड पर्ने कोइचिनको बक्खु आकर्षक लाग्छन् । लिमीको महत्व झल्काउने र अमूल्य लुगाका रूपमा कोइचिन बक्खु हो । यो बक्खु गाउँमा १५ देखि २० वटाजति छन् । लिमी गाउँमै भेटिएको कोइचिन बक्खु एक हजार वर्ष पुरानो मानिन्छ ।