राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

देशका ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् । तर, कर्णाली प्रदेशको हुम्ला भने अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेना यतिवेला रातदिन नभनी सडक निर्माणमा सक्रिय छ ।

कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किलोमिटरमध्ये एक सय किमि सडकको ट्र्याक तयार भएको सेनाका प्राविधिक सेनानी (मेजर) मिलन कार्कीले जानकारी दिए ।  ‘बाँकी ४५ किमि ट्र्याक तयार गर्ने काममा हामी दिनरात सक्रिय छौँ,’ सेनानी कार्कीले भने ।

६ सय जनशक्ति परिचालन
कर्णाली करिडोर सडक निर्माणका लागि ६ सय जनशक्ति परिचालित छन् । करिब चार सय स्थानीय र दुई सय १० जना सैनिक सडक निर्माणमा सक्रिय छन् । करिडोरअन्तर्गत बाजुराको धुलाचौरसम्म ट्र्याक तयार भएपछि गाडीसमेत गुड्न थालेको कार्कीले बताए । हाल दैनिक पाँच–छवटा गाडी धुलाचौरसम्म चल्न थालेका ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।

कालिकोटको खुलालुदेखि बाजुरासम्म तीनवटा बेलिब्रिज निर्माण भएको छ । बेलिब्रिज निर्माण भएपछि त्यस क्षेत्रमा गाडी चल्न थालेका हुन् । सेनानी कार्कीका अनुसार बाजुरा र हुम्लाको कर्बाडीखोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब हुम्लाको अदानचुली गाउँपालिकाको गल्फाघाट खोलामा एउटा बेलिब्रिज निर्माण गर्न बाँकी छ । गत वर्ष सडक निर्माणका लागि सरकारले ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  चालू आर्थिक वर्षमा सडक निर्माणका लागि २० करोड विनियोजन गरिएको छ ।

हिल्सा–सिमकोटमा काम तीव्र
हिल्सा-सिमकोट सडक आयोजना कार्यालयले ५० किमि खण्डमा निर्माण कार्य तीव्र बनाएको छ । यो खण्डलाई दुई भागमा विभाजन गरी काम अघि बढाइएको छ । सिमकोट–खार्पुनाथ १२ किलोमिटर र खार्पुनाथ–सुनखाडा खण्डको ६ किमि सडकको ट्र्याक तयार भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख शशांक मिश्रले जानकारी दिए ।

चीन जोडिन डेढ किमि बाँकी
सदरमुकाम सिमकोटलाई चीनसँग जोड्न अब सडकको डेढ किमि ट्र्याक खोल्न बाँकी छ । उत्तरी नाम्खा गाउँपालिकाको केर्मीसम्म मालवाहक ट्रक पुग्न थालेका छन् । त्यहाँबाट सिमकोटसम्म डेढ किमि ट्र्याक खुल्न बाँकी रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । ‘त्यहाँ डेढ किमि ट्र्याक तयार भएपछि सडक सञ्जालले चीनलाई छुन्छ,’ लामाले भने । www.nayapatrikadaily.com