हुम्लामा २ जना कुस्ठरोगका बिरामी भेटिए

हुम्ला,१५ माघ । हुम्लामा हालसम्म दुई जना मात्रै कुष्ठ रोगका विरामी देखिएका छन् ।
आइतबार स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा सन्चालन भएको ७० औँ विश्व कुष्ठ रोग दिवसको अन्तरक्रिया कार्यक्रममा हालसम्म हुम्लामा दुई जनालाई मात्रै कुष्ठ रोगको लक्षण देखिएको जानकारी भएको हो ।
उक्त कुष्ठ रोग देखा पर्नेमा सिमकोट गाउँपालिका वडा नम्वर २ स्थित ठेहे र वडा नम्वर ८ को खोल्सी गाउँका एक एक जनालाई मात्रै देखा परेको स्वास्थ्य सेवा कार्यालय हुम्लाको स्रोतले जनाएको छ । ७० औँ विश्व कुष्ठ रोग दिवस अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले जिल्लामा कुष्ठ रोग निर्मुल पार्नका लागि स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी र स्थानीय नागरिकको पनि अहम भूमिका रहनु पर्ने बताए ।
जिल्ला भर दुई जना कुष्ठ रोगबाट ग्रसित भएका विरामीहरुलाई यतिखेर जिल्ला बाहिर पोखरा र काठमाण्डोँमा उपचार भई रहेको प्रमुख सिंहले जनकारी दिए । जिल्ला अस्पताल हुम्लामा दरबन्दी अनुसारको दक्ष जनशक्तिको अभाव, स्रोत साधनको कमी, विधुतका कारण समयमै उपचार हुन नसक्नुले जिल्ला अस्पताल हुम्लालाई स्तर उन्नती गरिन केही समस्या भएको सिंहले बताए ।

त्यस्तै स्थानीय तहका रुपमा रहेका सात वटै गाउँपालिकाहरुले यतिखेर कुष्ठ रोग सम्वन्धिको कुनै पनि जनचेतना सम्वन्धिका काम कार्यहरु गरेको नदेखिएको पाइएको छ । गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति मात्रै सिमित रहेको र यसले गर्दा स्थानीय नागरिक झन थप मारमा पर्नु परेको छ । विशेष गरि उक्त रोग गर्मि र मानिसको चेतनाको कमीले गर्दा देखा पर्ने एक खालको सरुवा रोग भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।
उक्त रोग न्युनिकरणका लागि अवदेखि गाउँपालिका, जिल्ला अस्पताल र स्थानीयहरु लागि पर्ने र स्वास्थ्य शाखाले पनि तयारी गरि रहेको भण्डारिले बताए ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहको अध्यक्ष्तामा कुष्ठ रोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मुल नाराका साथ आइतबार दिउसो साढे २ वजे जिल्ला अस्पताल हुम्लामा कार्यक्रम सन्चालन भएको थियो।