पालिका अध्यक्षले फिर्ता पठाए प्रशासकिय अधिकृत

हुम्ला,९ माघ । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई फिर्ता पठाएका छन् ।

मन्त्रालयले गाउँपालिकासंग समन्वय नगरी नन्दराज गिरीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको भन्दै अध्यक्ष सिंहले फिर्ता पठाउन पत्राचार गरेका हुन । अदानचुली गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो ।

सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत गिरीले हाजिर गर्न पाएका छैनन् । गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते नै पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गरेका थिए ।

प्रशासकिय अधिकृत को किचलोका कारण सेवाग्राही मर्कामा परेको स्थानियको गुनासो छ ।