नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।
नाग देवतालाई हामीले वर्षाका देवता मान्ने गरिन्छ । नागले पानी पार्छन् भन्ने हाम्रो मान्यता अनुसार उनको पूजा–अर्चनालाई प्रकृतिको पूजाका रूपमा पनि लिन सकिन्छ । नेपाली चाडपर्वहरूको परम्पराको रमाइलो पक्ष प्रकृतिका समस्त पक्षको आराधना र सम्मान पनि हो । नागलाई विषालु सर्पका रूपमा पनि लिइन्छ । यसको अर्थ सर्प मानव जीवनका लागि विषालु नभई प्रकृतिमा भएको विषालु पदार्थ आफूले ग्रहण गरी मानव लगायत जीवको रक्षा गर्नु पनि हो । प्रकृतिको सन्तुलनका लागि नागको महत्त्वपूर्ण भूमिका हुने हुनाले नाग पञ्चमीको दिनलाई विशेष पर्वका रूपमा मनाउनु सबैका लागि हितकर हुन्छ ।
नागपञ्चमीका दिन नागको उत्तम विधिका साथ पूजा गरी घरको मुख्यद्वारमा स्थापित गर्दा अष्ट नाग या पञ्चमुखी नागको चित्रलाई बढी महत्त्व दिने गरिएको पाइन्छ । चामल, बेसार, चन्दन, अक्षता, दूध, जल तथा फूलले पूजा गरी गाईको गोबरमा दुबो लगाएर ढोकामा स्थापित गर्नुपर्छ । जन्म कुण्डलीमा नागको दोष देखिएमा यसै दिन पूजा तथा मन्त्र जप गर्दा लाभ हुने मान्यता छ । नाग देवताको यस मन्त्र ‘ॐ नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः’ लाई जप गर्दा समस्त समस्या समाधान हुने सनातनीय मान्यता छ ।नाग देवताले हाम्रो जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव दिने गर्छन् । ज्योतिषीय मान्यता अनुसार राहु र केतुलाई नागको मुख र पुच्छरका रूपमा लिइने गरिन्छ । राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।
राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।
ज्योतिषशास्त्रका नाममा जातकलाई तर्र्साएर आफूले आयआर्जन गर्ने प्रवृत्तिको विकास भइरहेको छ । विभिन्न स्थानमा कालसर्प दोष निवारण भन्दै यस्ता पूजा भइरहेका छन् । यसले सनातन धर्ममाथि नकारात्मक असर परिरहेको छ । सर्वसाधारणले कालसर्प दोषका नाममा अनावश्यक खर्च गरेर पूजा गराउनुको साटो आफैँले नागको पूजा र नाग गायत्री ‘ॐ नवकुलाय विदमहे विषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात’ को नियमित जप गर्दा राम्रो हुन्छ ।
कालसर्प दोष नहुने र यो केवल ठगी भएको नेपाल पञ्चांग निर्णायक विकास समिति, नेपाल ज्योतिष परिषद, दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ समेतले बताइसकेका छन् । तसर्थ कालसर्प दोषको भ्रममा पार्ने प्रवृत्तिको विरोध गर्न जरुरी छ ।
(रातोपाटिमा भरत्मणी ज्ञवालिले लेखेका छन ।लेखक ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)
कर्णाली रैवार संवाददाता । ४ भाद्र २०८०, सोमबार ०६:५३