एमाले प्रवेश गरेका छिमि माओवादीमै फर्किए

हुम्ला -एमाले प्रवेश गरेका हुम्लाका नेता छिमि लामा आशकर माओवादी केन्द्रमै फर्किएका छन् । छक्कबहादुर लामा र छिमि लामा केही दिनअघि माओवादी छाडी एमाले प्रवेश गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर लामा पुनः माओवादीमा फर्किएका हुन् । प्रचण्डनिवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी छाडेका अन्य साथीहरुलाई पनि पुरानै घर फर्काउने प्रतिबद्धता जनाए ।

व्यवस्थापनमा कमजोरीको कारण असन्तुष्ट हुँदै माओवादी छाड्ने गरेको भन्दै उनले त्यसलाई सच्याउने पार्टी नेतृत्वलाई उनले सुझाब दिए । ‘माओवादी पार्टीभित्र व्यवस्थापनको कमजोरी छ । यसैले गर्दा हुम्लामा माओवादी पार्टी कमजोर भएको हो,’ उनले भने, ‘अब मसँग गएका साथीहरूलाई सहकुशल ल्याएर बुझाउँछु ।’

माओवादी अध्यक्ष प्रचण्डले छिमी माओवादीमा फर्किएपछि हुम्लामा एमाले हार्ने निश्चित भएको भन्दै अब पार्टीका उम्मेदवार कार्चेन लामालाई विजयी गराउन आग्रह गरे ।

पार्टीमा फर्किएसँगै छिमी माओवादीको केन्द्रीय सदस्यमा पुनस्र्थापित भएको प्रचण्डले जानकारी दिए । ‘छिमी हिजो पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ,’ प्रचण्डले भने ।