कक्षाकोठामा हुनुपर्ने बालबालिका आरनमा घोटिँदै

हुम्ला–सिमकोट गाउँपालिका–८ स्थित खोल्सीगाउँकी ११ वर्षीया उर्मिला सुनार कान्ति निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन् । विद्यालयभन्दा धेरै समय उनको आरन पेसामै बित्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले आमाबाबुलाई आरनको काममा उनले सहयोग गर्ने गरेकी छिन् । दैनिकजसो उनी सल्लाको बोक्रा संकलन गर्न खगाल गाउँको वनमा पुग्ने गर्छिन् ।

कापी–कलम किन्ने पैसा नहुँदा स्कुल जान नसकेको उनी बताउँछिन् । स्कुल जान छाडेपछि आमाबाबुसँग आरनको काममा सहयोग गर्दै आएको उर्मिलाले बताइन् । ‘विद्यालय जाऊँ भने कहिले कापी हुँदैन, कहिले कलम र लुगा हँुदैन, त्यसैले पढ्न मन भए पनि जान मन लाग्दैन,’ उनले भनिन् ।  उर्मिलाजस्तै खोल्सीगाउँका पाँच घरका बालबालिकाको समस्या उस्तै छ । खोल्सीगाउँकै रूपसिंह सुनारले आर्थिक अवस्था कमजोर भएकैले विद्यालय छाडेको गुनासो गरे । कक्षा ६ मा पढ्दा–पढ्दै उनीहरू बीचमै स्कुल जान छाडेका हुन् । ‘१० वर्षको उमेरमै बुबा बित्नुभयो । घरमा आमा र भाइबहिनी छन् । आफ्नो नाममा जग्गा पनि छैन, त्यही भएर आरन पेसा गरी परिवार खर्चको जोहो गर्न गरेको छु,’ सुनारले भने ।

 पालो लगाएर आरनको काम
खोल्सीगाउँका पाँच घरधुरीले ६÷६ दिन पालो लगाएर आरनको काम गर्ने गरेका छन् । आरनमा हँसिया, कोदालीलगायतका सामान बनाउने गरेका छन् । ‘प्रतिघरधुरी ३५ केजी खाद्यान्न दिन्छन्, त्यही खाद्यान्नले परिवारको खर्च चलाउँछु,’ स्थानीय धउले सुनारले प्रश्न गरे, ‘छोराछोरी छन्, गाउँको खेतमा उब्जनी हँुदैन, यो काम नगरे कसरी बालबच्चा पाल्नु, आफू के खानु ?’

सिमकोट गाउँपालिका–८ का स्थानीय सबले सुनार, नाना सुनार, रूपसिंह सुनार, कालीबहादुर सुनार र कर्ण सुनारले नाम्खा गाउँपालिका–३ को खगालगाउँमा आरन चलाएर परिवारको खर्च जोहो गर्दै आएका छन् । आमाबाबु घरमा नबस्ने र आरनको कामका लागि हिँड्ने गरेपछि बालबालिका पनि विद्यालय छाडेर आमाबाबुसँगै बस्ने गरेका छन् ।नयाँ पत्रिकाबाट