हुम्ला खाद्य कम्पनीले बेच्यो एक वर्षमा साढे १५ करोडको चामल

हुम्ला  सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा एक वर्षमा साढे १५ करोडको चामल बिक्री गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा जिल्लाभर २४ हजार ९ सय २१ क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका कार्यालय प्रमुख रामबहादुर विष्टले बताए । जिल्लाको शाखा कार्यालय सिमकोट, श्रीनगर डिपो, सर्केगाड डिपो, छेप्रेला बिक्री केन्द्र, याँचु र याल्वाङ बिक्री केन्द्रबाट १५ करोड ६७ लाख ३४ हजारबराबरको चामल बिक्री भएको हो ।

शाखा कार्यालय सिमकोटबाट जिरा मसिना चामल प्रतिकेजी ७० रुपैयाँ, जापानिज चामल ६५ रुपैयाँ र सोना मनसुली चामल ६२ का दरले बिक्री हुने गरेको छ । त्यसैगरी, मध्यम खाले चामल ६१ रुपैयाँ, अरुवा मोटा ५७ रुपैयाँ, गोरखनाथ चामल प्रतिकेजी ६२ र उसिना चामल प्रतिकेजी ३५ रुपैयाँमा बिक्री हुने गरेको छ ।

हवाईमार्ग र स्थलमार्ग हुँदै हुम्लाका ४ वटा बिक्री केन्द्रमध्ये २ वटा डिपो र एउटा शाखा कार्यालयमा चामलको ढुवानी हुँदै आएको छ । हवाईमार्ग हुँदै सिमकोट शाखासम्म नेपालगन्जबाट प्रतिकेजी १ सय १४ रुपैयाँ ८० पैसा र सुर्खेतबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ८० पैसामा निजी कम्पनीका जहाजले चामल ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ । स्थलमार्गबाट काठमाडाैं हुँदै उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रसम्म प्रतिक्विन्टल ४ हजार ६ सय ३३ रुपैयाँमा पुग्ने गरेको छ ।

मुगुदेखि हुम्लाको सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३ हजारमा चामल पुग्छ । यसैगरी, धनगढीदेखि सिमकोट शाखासम्म ७ हजार ३ सय प्रतिक्विन्टलका दरले ढुुवानी लाग्ने गरेको छ । धनगढीदेखि स्थलमार्ग श्रीनगर डिपो कार्यालयसम्म २ हजार ७ सय ३४ रुपैयाँ प्रतिक्विन्टल ढुवानी रहेको छ ।

सुर्खेत हुँदै सिमकोट शाखासम्म स्थलमार्गबाट चामल पुर्‍याउन ७ हजार २ सय रुपैयाँ लाग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले बताए । स्थलमार्ग हुँदै सुर्खेतदेखि सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३४ सय र सुर्खेतदेखि श्रीनगर डिपोसम्म २१ सय ढुवानी भाडा लाग्छ । सुर्खेतदेखि खार्पुनाथ गाउँपालिकाको याँचु बिक्री केन्द्रसम्म ६ हजार ३ सय ९० रुपैयाँ ढुवानी लाग्छ । यसैगरी, सुर्खेतदेखि चङ्खेली गाउँपालिकाको देउली बिक्री केन्द्रसम्म चामल ढुुवानी गर्न प्रतिक्विन्टल २ हजार ९ सयमा ठेकेदारले ढुवानी गर्न गरेका छन् । सुर्खेतदेखि सिमकोट शाखासम्म स्थलमार्गबाट ढुवानी गर्दा ७ हजार २ सय रुपैयाँ पर्ने गरेको पाइएको छ ।

७३ हजार क्विन्टल चामलको माग
चालू वर्षका लागि खाद्य व्यवस्थापन समिति हुम्लाले ७३ हजार क्विन्टल चामलको माग गर्ने भएको छ । आर्थिक वर्ष ०७७÷७८ का लागि शाखा कार्यालय सिमकोट, डिपो केन्द्र श्रीनगर र सर्केगाड बिक्री केन्द्र याल्वाङ, याँचु, देउली र छेप्रेलाका लागि हाल उपलब्ध कोटाभन्दा धेरै मात्रामा माग गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

शाखा कार्यालय सिमकोटका लागि ३५ हजार क्विन्टल चामल माग गरिने भएको छ । त्यस्तै, डिपोहरू श्रीनगरका लागि ६ हजार र सर्केगाडका लागि ८ हजार तथा बिक्री केन्द्रहरू छप्रेलाका लागि ६ हजार, देउलीका लागि ६ हजार, याँचुका लागि ६ हजार र याल्वाङका लागि ६ हजार क्विन्टल चामलको माग गरिने भएको छ ।