गाउँपालिका अध्यक्षका छोराले पत्रकारलाई दिए ज्यान मार्ने धम्की

कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका छोराले पत्रकार रमेश रावललाई ज्यान मार्ने धम्की दिएका छन् ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टका छोरा विशाल बिष्टले पत्रकार रावललाई आज दिउँसो ३ बजे फोन गरेर ज्यान मार्ने धम्की दिएका रावलले बताए । ९८४३६५४२१७ नम्बरबाट फोन गरेर बिष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएका हुन् ।

गाउँपालिकाको गाडी दुरूपयोग गरेको भन्ने समाचार लेखेको भन्दै अध्यक्षका छोराले आफूलाई फोन गरेेर ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले जानकारी दिए । ‘केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको रहेको भन्दै जुनसुकै बेला पनि मार्ने धम्की दिए’, उनले भने ।

पत्रकार रावलले सोमबार नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताए । पत्रकार रावल नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेका साथमा सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

विशाल बिष्टले धम्की दिएको स्वीकारेका छन् । उनले समाचारको खण्डन गर्न भन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको भन्दै पन्छिन खोजे ।