कर्णालीका मुख्यमन्त्री सहित १६५ जनाको रिर्पोट नेगेटिभ

सुर्खेत : आगामी जेठ ११ गते (आइतबार) आह्वान गरिएको प्रदेशसभाको बैठकका लागि कोरोनाा संक्रमण परिक्षण गरेका कर्णालीका मुख्यमन्त्री सहित १ सय ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको हिजो (बिहिबार) लिइएको ‘नोजल स्वाब’ रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने अवस्थामा कोरोना संक्रमणको जोखिम भए नभएको स्पष्ट गर्न प्रदेश सरकार, प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीहरुको बिहीबार स्वाब संकलन गरिएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ दिएका थिए ।

त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६५ को ‘नोजल स्वाब’ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. चेतनारायण अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र यसले निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिए ।