‘छोरी बचत खाता’ कालिकोटबाट सुरु गरिँदै

नयाँ पत्रिका, वीरेन्द्रनगर कर्णाली प्रदेश सरकाले सञ्चालन गर्न लागेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालिकोटबाट सुरु हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले १ पुसमा कालिकोटबाट कार्यक्रम सुरु गर्न लागेका छन् ।

आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा कर्णाली प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोल्ने कार्यक्रम ल्याइएको थियो । यसका लागि प्रदेश सभाले कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याउन लागिएको जनाएको छ । १ साउन ०७६ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले बैंकमा पैसा जम्मा गर्ने भएको छ । कालिकोटबाट सुरु गरेर प्रदेशभरि कार्यान्वयन गरिने जनाएको छ ।

महिनामा पाँच सय बचत हुने
कार्यविधिअनुसार ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ खातामा प्रदेश सरकारले पहिलो चरणमा एकमुष्ट एक हजार रुपैयाँ जम्मा गर्नेछ । त्यसपछि हरेक महिना पाँच सय रुपैयाँका दरले जम्मा गर्ने सामाजिक मन्त्रालयका सचिव डा. मानबहादुर विकले बताए । ‘पहिलो चरणबाहेक अन्य महिनाको सम्बन्धित स्थानीय तहमा रकम पठाइनेछ ।

स्थानीय तहले खातावालाको बैंक खातामा रुपैयाँ जम्मा गरिदिनेछन्,’ उने भने । यसरी २० वर्षसम्म मासिक पाँच सय रुपैयाँ जम्मा गरिनेछ । यो रकम बीचमा झिक्न पाइनेछैन । २० वर्ष पुगेपछि मात्र झिक्न पाइने जनाएको छ ।

कसरी खुल्छ खाता ?
छोरी जन्मिएपछि अभिभावकले स्थानीय तहमा निवेदन दिनुपर्नेछ । निवेदनका आधारमा स्थानीय तहले प्राप्त जाँचबुझ गरी आवश्यक प्रक्रिया पुगेको भए खाता खोल्न अभिभावकसहित कर्णाली प्रदेशअन्तर्गत स्थानीय तहमा रहेका बैंकका शाखा कार्यालयमा सिफारिस गर्नेछ । त्यहीँ खाता खोलिनेछ ।