आमाबाबुको स्मृतिमा धारा निर्माण, खर्च दुई लाख

सिमकोट गाउँपालिका वडा नं ५ खाद्दक गाउँका पूर्णबहादुर रोकाया र मानबीर रोकायाले आफ्ना आमाबाबुको स्मृतिका सिमकोट गाउँको सतगत गर्ने सीमचौरमा दुई लाख खर्चर धारा निर्माण गरेका छन् । यसबाट जिल्लामा नयाँ कामको शुरुवात भएको छ ।
आमा चौकी रोकायाको दोस्रो र बुबा जयबहादुर रोकायाको चौथो स्मृतिको अवसरमा सिमकोट गाउँपालिका वडा नं ५ खाद्दकगाउँको सीमचौरमा आफ्नो जनश्रमदान र एक लाख ५० रुपैँया खर्च गरेर खुला अवस्था रहेको पानीलाई व्यवस्थित गरेर धारा निर्माण गरेकाले अब सतगतका लागि पानीको सहज रुपमा प्रयोग गर्न सकिने जेठा छोरा पूर्णबहादुर रोकायाले बताएका छन् ।
बुवा वि.सं. १९८७ पुस ७ गते जन्म भई २०७२ मंसिर ७ गते जयबहादुर रोकायाको मृत्यु भएको हो भने आमा चौकी रोकायाको १९८९ असार २५ गते जन्म भई २०७५ असोज १९ गते मृत्यु भएको जानकारी कान्छा छोरा मानबीर रोकायाले जानकारी दिएका छन् ।
आमाबाबुको मुद्दती खातामा रहेको नगदलाई सदुपयोग गरेर सबैका लागि अत्यावश्यक स्थानमा सार्वजनिक धारा निर्माण गरेर आफ्ना मान्यजनको स्मृतिलाई लामो समयसम्म सम्झिने रहनका लागि सानो प्रयास गरिएको परिवारिक स्रोतले बताएको छ ।
यसरी जिल्लामा आमाबाबुको नाममा सार्वजनिक स्थलमा नयाँ कामको शुरुवातले सबैलाई उत्प्रेरित बनाउने सिमकोट गाउँको अदानसिंह रावतको मत रहेको छ ।
यो कार्यक्रममा स्थानीय रुपमा मान्यता प्राप्त भएका धामी, डांग्री, जानमान, गाउँका भैभलादमी, आफन्त, सञ्चारकर्मी र अन्यहरुको उपस्थित रहेको थियो । धाराको उद्घाटन बाँडपालका डाँग्री तुलसिंह रावतले गरेका थिए भने पूजाआजा कालोसिल्तो देवताका मुलधामी जुन रोकायाले गरेका हुन् ।
आफ्ना मान्यजनको स्मृतिमा धारा, पाटी, पौवा, मन्दिर जस्ता विभिन्न कामहरु गर्ने गराउने नेपाली चलन भए पनि हुम्लामा यो काम नौलो भएकाले सबैले यसको सिको गर्नु पर्ने देखिन्छ ।