एउटाको बजेट अर्कैले गर्‍यो खर्च

सिमिकोट गाउँपालिकाको डेढ करोड खार्पुनाथ गाउँपालिकाले खर्च गर्‍यो, लेखापालको मिलेमतो रहेको आरोप

हुम्लाको खार्पुनाथ गाउँपालिकाले सिमिकोटको बजेट जानकारी नै नदिई खर्च गरेको छ । लेखपालसँगको मिलेमतोमा डेढ करोड बजेट हिनामिना भएको सिमिकोट गाउँपालिकाको आरोप छ ।

एउटा स्थानीय तहको रकम अर्को स्थानीय तहले चलाउँदा दुवै स्थानीय तहले स्वीकृति लिने र दिने गर्नुपर्छ । अझ गाउँपरिषद्बाट निर्णय गराउनुपर्छ । तर, खार्पुनाथ गाउँपालिकाले १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ विनास्वीकृति आफ्नो विकास निर्माणका योजनामा खर्च गरेको हो । खार्पुनाथले आफ्नो बजेट खर्च गरेको सिमिकोट गाउँपालिकाले पत्तै पाएन ।

लेखापाल आश्विनी देवकोटाले सिमिकोटको बजेट खार्पुनाथको खातामा सारेको सिमिकोटको आरोप छ । लेखापाल देवकोटाले दुवै गाउँपालिकाको काम गर्दै आएका छन् । गत आर्थिक वर्षको बजेट हिनामिना गरिएको सिमिकोट गाउँपालिका अध्यक्ष पदम लामाले बताए । ‘गलत गरिएको छ, जसले गरेको भए पनि सोधभर्ना गराउँछौँ,’ अध्यक्ष लामाले भने ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले यस विषयमा अनभिज्ञता जनाए । गत आर्थिक वर्षमा सिमिकोटको रकम खर्च भएको देखिएको उनले बताए । ‘विभिन्न योजनामा खर्च भएको छ, अर्को आर्थिक वर्षमा सोधभर्ना गर्छौं,’ उनले भने ।

स्थानीय युवाले भने मिलेमतोमा रकम हिनामिना भएकाले कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरूले हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानालाई ज्ञापनपत्र बुझाएर कारबाही गर्न माग गरेका छन् ।

यसरी गरियो रकमान्तर
लेखापाल आश्विनी देवकोटा र खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह शाहीले पत्र लेखेरै रकमान्तर गराएका छन् । २४ जेठमा लेखेको पत्रमा वाणिज्य बैंकलाई पनि झुक्याइएको छ । सिमिकोट गाउँपालिकाको सञ्चित कोषको खाता नम्बरलाई आफ्नो भनेर पत्रमा लेखिएको छन् ।

वाणिज्य बैंकको हुम्ला शाखालाई लेखिएको पत्रमा खार्पुनाथ गाउँपालिकाको सञ्चित कोषको खाता नं. ४१९०३०४०१८१०३ मा जम्मा रहेको रकम रु. १,५७,५२,६६७ लाई खाता नं. ४१९०३०४०१८१०२ मा ट्रान्सफर गर्न आग्रह गरिएको छ । जब कि, ४१९०३०४०१८१०३ सिमिकोटको खाता हो भने ४१९०३०४०१८१०२ खार्पुनाथको ।

दुवै गाउँपालिकाको कामकाज गरेका लेखापाल देवकोटाले झुक्किएको प्रतिक्रिया दिए । ‘कामको चटारोले फरक परेको हो,’ उनले भने ।

डेढ करोड धमाधम खर्च
यसरी सिमिकोट गाउँपालिकाको खाताबाट ट्रान्सफर गरेको रकम भने खार्पुनाथ गाउँपालिकाले धमाधम खर्च गरेको छ । असारको पहिलो साता नै नयाँ योजना बनाएर खर्च गरेको पाइएको हो । खार्चुनाथका कर्मचारी तथा जनप्रतिनिधिले थपिएको रकमका विषयमा कसैलाई जानकारी दिएनन् । विकास निर्माणका काममा खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।

बैंकले पनि वास्ता गरेन
एउटा गाउँपालिकाको रकम अर्को गाउँपालिकाको खातामा ट्रान्सफर गराउँदा वाणिज्य बैंकले पनि वास्ता गरेन । खार्पुनाथले सिमिकोटको खातालाई आफ्नो भनेर पत्र पठाउँदा बैंकले नहेरी ट्रान्सफर गरिदियो ।

वाणिज्य बैंक हुम्ला शाखाका प्रबन्धक ठोक्रे विष्टले केही कमजोरी भए सच्याइने बताए । ‘रकम पोस्टिङमा गलत भएको भए तत्काल खार्पुनाथ गाउँपालिकाको रकमबाट सिमिकोट गाउँपालिकाको खातामा रकम फिर्ता गराउँछौँ,’ उनले भने ।

बैंकले पनि वास्ता गरेन
एउटा गाउँपालिकाको रकम अर्को गाउँपालिकाको खातामा ट्रान्सफर गराउँदा वाणिज्य बैंकले पनि वास्ता गरेन । खार्पुनाथले सिमिकोटको खातालाई आफ्नो भनेर पत्र पठाउँदा बैंकले ट्रान्सफर गरिदियो ।

वाणिज्य बैंक हुम्ला शाखाका प्रबन्धक ठोक्रे विष्टले केही कमजोरी भए सच्याइने बताए । ‘रकम पोस्टिङमा गलत भएको भए तत्काल खार्पुनाथ गाउँपालिकाको रकमबाट सिमिकोट गाउँपालिकाको खातामा रकम फिर्ता गराउँछौँ,’ उनले भने । Naya patrika bat