३९ किमि सडकको गाडीभाडा १२००

यातायात व्यवसायीकै सहमतिमा हुम्ला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको थियो ३१३ रुपैयाँ

हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले तीन सय १३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झन्डै चार गुणाले बढी हो ।
गत साता सुर्खेत झर्ने क्रममा चंखेली गाउँपालिका– ३ का धनमान ऐरीले सल्लीसल्लादेखि कबाडीसम्म जिपमा यात्रा गर्दा एक हजार दुई सय भाडा तिरेको बताए । ‘सल्लीसल्लादेखि कबाडीसम्म जिपले एक हजार दुई सय भाडा लियो । कबाडी पुलबाट अर्को जिप बदलेर बाजुराको धुलाचौरसम्म १३ किमि यात्रा गर्दा पाँच सय तिर्नुर्पयो,’ उनले भने ।

मलाई यसबारे थाहा छैन,सिडिओ सा’ब जिल्लाबाहिर हुनुहुन्छ अमृतप्रसाद सुवेदी, सहायक सिडिओ, हुम्ला
भाडामा देखिएको समस्याबारे मलाई थाहा छैन । सिडिओ साब पनि अहिले जिल्लाबाहिर हुनुहुन्छ । उहाँ आएपछि यसबारे जानकारी गराउँछु । सरोकारवाला निकायको समेत सहभागितामा बैठक गरेर समस्या बुझ्ने र समाधान खोज्ने विषयमा पहल गर्छु ।
१६ फागुन ०७८ मा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकाय र यातायात व्यवसायीसमेतको बैठकले अस्थायी रुट परमिट र जिल्लाभित्रका सडकखण्डको भाडादर निर्धारण गरेको थियो । तर, उक्त भाडादर कार्यान्वयन भएको छैन ।
सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि कच्ची सडकको भाडादर ८० रुपैयाँ तोकिएकोमा व्यवसायीले पाँच सय असुल्दै आएका छन् । त्यस्तै, सर्केगाड– १ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा ४० रुपैयाँ भाडा तोकिएकोमा व्यवसायीले तीन सयसम्म लिने गरेका छन् । अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको ८० रुपैयाँ भाडा निर्धारण भएकोमा व्यवसायीले दुई सय असुल्दै छन् ।
ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ । जसको भाडादर ८८ रुपैयाँ निर्धारण गरिएकोमा व्यवसायीले तीन सय उठाउँछन् । त्यस्तै, लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले दुई सयका दरले असुल्दै आएका छन ।

सिमकोटदेखि हिल्सासम्म ९५ किमिको भाडा निर्धारण ९५०, तर असुल्छन २०००
हुम्ला सदरमुकामा सिमकोटदेखि हिल्सासम्म पनि भाडादरमा ठगी अचाक्ली छ । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीसँगकै सहमतिमा ९५ किमिको यो सडकको भाडादर नौ सय ५० रुपैयाँ कायम गरेको थियो । तर, अहिले व्यवसायीले दुई हजार रुपैयाँ असुल्ने गरेका छन ।
सिमकोट–खार्पुनाथ खण्डको १२ किमि कच्ची सडकको भाडादर एक सय २० रुपैयाँ तोकिएको थियो । तर, व्यवसायीहरूले आठ सय रुपैयाँसम्म लिने गरेका छन ।

सर्केगाड– ३ उनापानीकी बाली फडेराले ४ माघमा सर्केगाडको पालिका केन्द्रदेखि सल्लीसल्लासम्म पाँच सय रुपैयाँ र सल्लीसल्लादेखि बाजुराको धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको गुनासो गरिन । धुलाचौरबाट बाजुराकै पिलुचौर पुग्दा थप पाँच सय तिरेको उनले बताइन । त्यस्तै, पिलुचौरदेखि कालिकोटको लालिघाट पुग्दा अर्को दुई हजार भाडा लागेको सुनाइन् । हुम्लाका नागरिक प्रदेश राजधानी सुर्खेत आउन बाजुरा, कालिकोट हुँदै यात्रा गर्नुपर्छ ।

‘पालिका केन्द्रबाट प्रदेश केन्द्र सुर्खेतसम्म पुग्दा सात–आठ हजार खर्च भयो । होटेलमा पनि बस्नुपर्ने भएपछि गाडीभन्दा त जहाज नै चढ्दा पो सस्तो पर्नेजस्तो देखियो,’ फडेराले भनिन ।

हुम्लाकै चंखेली गाउँपालिका– ४ का झक्क रोकायाले पनि सल्लीसल्लादेखि धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको बताए । धुलाचौरदेखि बाजुराको जगन्नाथ गाउँपालिका– १ पिलुचौरसम्म थप तीन सय र त्यहाँबाट नयाँ गाडी फेरेर कालिकोटको लालिघाट बजारसम्म ६१ किमिका लागि सुर्खेत बुलबुले यातायात प्रालिले प्रतिव्यक्ति दुई हजार लिएको गुनासो गरे ।
बाजुरा खण्डमा पनि कार्यान्वयन भएन भाडादर, यात्रुमाथि उस्तै ठगी
बाजुरा जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका सडकखण्डमा भाडादर निर्धारण गरेकोमा यात्रुमाथि ठगी उस्तै छ । बुढीनन्दा नगरपालिकाको कोल्टीदेखि जिल्लाकै हिमाली गाउँपालिकास्थित धुलाचौरसम्म १७ किमि कच्ची सडकमा जिल्ला प्रशासनले दुई सय चार रुपैयाँ भाडा तोकेको छ । तर, व्यवसायीले पाँच सय रुपैयाँ लिँदै आएका छन ।
त्यस्तै, कोल्टीदेखि कबाडी ९बाजुरापट्टि०सम्म १९ किमि कच्ची सडकको भाडादर दुई सय २८ तोकिएकोमा जिपले हजार असुल्ने गरेका छन् । कोल्टीदेखि पिलुचौरसम्म ६ किमि दूरीमा पनि ७२ रुपैयाँ भाडादर निर्धारण भएकोमा दुई सय लिने गरेका छन । कोल्टीदेखि कालिकोटको लैफु २३ किमि छ । भाडादर दुई सय ७६ निर्धारण गरिएकोमा व्यवसायीले पाँच सय रुपैयाँसम्म असुल्ने गरेका छन ।
ज्यानको जोखिम मोल्दै गाडीमा यात्रा, सडकको स्तरोन्नति कहिले ?
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किमि खण्ड निर्माणका लागि ९ चैत ०७१ मा सेनालाई जिम्मा दिइएको थियो । ६ वर्षमा ट्र्याक खुलेपछि गाडी गुड्न थालेका हुन् । सल्लीसल्लादेखि सर्केगाड गाउँपालिका दुल्लीकुनासम्म ११ किमि सडकको ट्र्याक भने ‘हिल्सा–सिमकोट सडक योजनाले खोलेको छ । यहाँ पनि गाडी गुड्छन । तर, सर्केगाड– २ को रिपदेखि खार्पुनाथ गाउँपालिका– १ लालीबगरसम्म सात किमिमा सेनाले ठेक्का लिएर काम गरिरहेको छ । यहाँ चट्टानी भाग भएकाले कामको गति केही सुस्त छ । लालीबगरदेखि सिमकोटसम्म हिल्सा–सिमकोट सडक योजनाले नै ट्र्याक खोलिसकेको छ । यो सिंगो सडकखण्डमा हाल एक सय ३७ किमिमा गाडी गुड्छ ।
तर, ट्र्याक खोलिएको सडकको स्तरोन्नति छैन । व्यवसायीलाई मनपरी भाडा तिर्नुपर्ने यात्रुले ज्यानको समेत बाजी लगाउनुपरेको छ । जोखिमयुक्त सडकमा गाडीले क्षमताभन्दा बढी यात्रुसमेत बोक्ने गरेका छन । ‘भाडामा मनपरी त छँदै छ, कोचाकोच यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँछन्,’ बाजुराका पत्रकार उमेश शाहीले भने । कर्णाली करिडोरको यो सडकमा दैनिक १५ देखि २० जिप र ४० देखि ५० सम्म मालवाहक ट्रक बाजुराबाट आउजाउ गर्छन ।