उपाध्यक्षद्धारा पाँच बर्ष कै पारिश्रमिक शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा

हुम्ला– सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावतले गाउँपालिकाबाट पुरै अबधिमा पाउने सेवा र सुबिधाहरु शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गर्नु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रावतले आफु निःस्वार्थ रुपमा स्वयम सेवा गर्ने उदेश्यले राजनीतिमा आएको र गाउँपालिका भरिका बिद्यालयका गरिब तथा जेहेन्दार बिधार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउनका लागि पालिकाबाट पाईने सेवा र सुबिधा बापत आउने रकम खर्च गर्न लागिएको बताउनु भएको हो ।
नौ बर्षको उमेरमा आमाको मृत्यु भएको कारण आफुले पढ्न नपाएको र आफु जस्तै कुनै बालबालिकले आर्थिक अभाब कै कारण पठन पाठनमा अबरोध सृजना नहोस भन्नका लागि हालसम्म आफुले गाउँपालिकाबाट पाएको र आगामी दिनमा पाउने पारिश्रमिकहरु बुवा आमाको नाममा अक्षय कोष स्थापना गरेर गाउँपालिकाका सबै बिद्यालयहरु समेटिने गरि गरिब तथा जेहेन्दार बिधार्थीको शिक्षाका लागि लगानी गर्ने उपाध्यक्ष रावतले बताउनु भयो ।
पढ्ने चाहाना भएर पनि घर कै अबस्थाले पढ्न नपाएको कारण पनि अहिले शिक्षामा लगानी गर्न प्रोत्साहन मिलेको र आफ्नो सानो सहयोगले अर्को बिधार्थीको भबिष्य बनाउन सहयोग पुगोस भन्नका लागि यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो ।
अघिल्लो आर्थिक बर्षको सेवा र सुबिधा सहित यस आर्थिक बर्षको हालसम्म समेत जोडेर अक्षय कोष स्थापना गर्ने र कोष संचालन कार्य बिधि बनाएर त्यसलाई शिक्षा क्षेत्रमा लगानी गरिने उहाँले बताउनु भयो ।
उपाध्यक्षको मासिक पारिश्रमिक २५ हजार हुने गरेको छ । हालसम्म दशै पेश्की सहित २४ महिनाको पारिश्रमिक बुझेको छ लाख भएको र त्यसको अक्षय कोष र छात्रबृद्धिका लागि खर्च हुने तथा यस पछि बाँकी अबधिसम्मको रकम पनि कोष मार्फत गाउँपालिकामा रहेका बिद्यालयहरुका छात्रा छात्रहरुको पठन पाठनमा लगानी गरिने उहाँले बताउनु भयो ।