कर्णाली प्रदेशको ऐतिहासिक जित

सुर्खेत,२६ जेठ । शुक्रबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रथम स्थान हासिल गरेर इतिहास रच्न सफल भएको छ ।

शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णालीले उपाधि हात पारेको हो । कर्णालीले जितका लागि सुदूरपश्चिम प्रदेशलाई १४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको सुदूरपश्चिम मात्र ८९ रनमा अल आउट भएको थियो ।  कर्णालीका लागि युनिक विक्रम सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।

ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो भने कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले २७ बलमा २१ रन बनाएका थिए ।

विगत पाँच वर्षदेखि नै राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीले हालसम्म कुनै स्थानमा आफूलाई उकाल्न सकेको थिएन ।