खानेपानीको धारो बरफ

सिमकोेट गाउँपालिका स्थित धर्मानन्द लामाबाट फोटो उपलब्ध भएको हो ।

हुम्ला– सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा धारामा पानी आउनै छोडेको छ । खानेपानीको धारोमा बरफ जम्न थालेपछि खानेपानीको अभाव भएको छ । चिसोले तापक्रम माइनस १७ डिग्रिामा झरेकोले खानेपानी धारामै जमेपछि धारा र पाइपहरुमा तातोपानी हालेर बरफ पग्लाउदै आएका छन ।

खानेपानी धारामै जमेकोले खानेपानीको अभाव हुन थालेको सिमकोट गाउँपालिका ४ का धर्मानन्द लामाले बताए । अत्याधिक चिसोले घरको खानेपानीको धारोमा नै बरफ जम्दा खानेपानीको समस्या भएको लामाले बताए ।

पाइपमा पानी आउनै छोडेपछि पाइपमा तातोपानी पाइपमा हालेर बरफ पग्लाउनु पर्ने बाध्यता देखिएको छ । हुम्लामा जहिले पनि चिसोले माघ महिना सम्म खानेपानीको समस्या हुदै आएको सिमकोट गाउँपालिका ३ का कार्मा नाम्गेल लामाले बताए । धारोमा खानेपानी आउन छोडेपछि नजिक मुग्रा धारोमा गएर पानी ल्याउनु पर्ने बाध्यता उनले भने ।

सदरमुकाम सिमकोट निजी तथा सार्वजनिक गरी ४ सय ८५ धारा रहेकोमा करिब ३ सय धारामा पानी आउन छोडेको सिमकोट खानेपानी तथा सरफाई उपभोक्ता समिति कार्यालयले जनाएको छ ।

हिउँद लागेसँगै महुनमा पानी कम आउने र पाइपमा बरफ जम्ने समस्याले पानी आउनै छोडेको खानेपानी श्रोतले जनाएको छ । खानेपानीको धारोमा बरफ जम्ने समस्या हुदा सदरमुकाम सिमकोटबासीहरु बिहान बेलुका खानेपानीको जोहो गर्न नजिकै रहेको मुगाधाराबाट पानी ल्याएर पानीको गुजरा चलाउदै आएका छन ।