कुरुवाको अस्पताल -प्रेम बुढा क्षेत्री(कविता)

चि…सो समय,चिसा बिरामी
अनि उस्तै चिसा कुरुवाहरु

झन्डै गोडा चार दिन काटेर सकेको छु प्रतीक्षाका
अस्पतालको चिसो ब्रान्डा अनि चिसा बेन्चहरुमा

क्यानुलाले हात दुखेर रोइरहेका छन
उदाउँदा घामहरु
बुढेसकालमा यिनै घामले पोल्दा
कतिले आश्रम खोज्नु पर्ने होला
कसले देखेको छ त्यो वृद्ध क्षितिजलाई ?

तर कलिला मुनालाइ च्यापेर
न्यानो बनाइरहेछन आमाहरु
मानौ आफ्नो सन्तानलाई
ती…खो सुइले घोच्न नपाओस त्यो नर्सले

मौसमको मारले ख्याङ ख्याङ गर्दै
सिमेन्टको चिसो गुँडमा
च्याँ च्याँ गरिरहेका बचेराहरु
लाग्छ हरियो कपडाले ढाकिएको
अस्तिपन्जरमा लडाइएका छन
की मानौ चारो दिएर डाक्टर अघि नै उडिसक्यो

सन्तान बिरामी परेको पीडाका बेला पनि
पापीहरुको पाप पलाउने पीरले
दुई घुट दुध चुसाउन पनि
स्तन लुकाउछिन आमा
सोच्छु पापी नजरको उपचार
किन नभएको होला अस्पतालमा ?

आशा घर फर्केर देखाउने छ
नयनको प्रतीक्षामा समय जस्तै
कुरिरहेछन कुरुवाहरु उडिसकेको डाक्टरलाई
तर घण्टा बदली रहेको घडी जस्तै
निगरानीमा आइरहने नर्सले
बन्न दिएका छैनन विद्रोहको वातावरण

यो मेरो देश हो जहाँ
अस्पताल बिरामी कुरिरहेका छन
बिरामी डाक्टर कुरिरहेछन
डाक्टर क्लिनिक कुरिरहेछ
शुभदिन कुरिरहेको कुरुवा
फेरि आउन नपरोस भन्दै
अस्पताल कुरिरहेछन

सबैको दु:ख देखेका ए भगवान
तिमी नै भन
तिमी के कुरिहएका छौ ?