कठै मेरो देश !(कबिता)

बाध्यताले बिदेसिने सपना बोकेर
खाली हात राजधानी छिरेको
त्यो निर्दोष युवा
त्यो कलिलो युवा
देशको गोली बोकेर
पशुपतिको आर्यघाटमा अस्तायो

उड्यो त आखिर सपना सबैको उड्यो
परिवारको सबै आशा भरोसा उड्यो
उ मृत्यु उपहार दिएर
धुवाँ बनेर उड्यो
देशको रेमिटेन्स भित्र्याउने सपना उड्यो
आमाको च्यातिएको चोली फेर्ने सपना उड्यो
बाउको साहुको ऋण तिरेर
शान्तिको सास फेर्ने सपना उड्यो
घरको चुहिने छाना फेर्ने सपना उड्यो
भाइको हिम्मत उड्यो
बाच्ने साहस उड्यो
दिदीको माइती उड्यो
उनको हंस उड्यो
सिउँदो रङ्गाउने सपना उड्यो
साथीको मन टुट्यो
यो देशमा बाच्ने सपना उड्यो
छिमेकीको जन्ती उड्यो
मलामी उड्यो
उ आफै खम्बा थियो
खम्बा नै ढली गयो त
बाँकी के नै रहन्थ्यो र,

घट्यो नि
देशको बेरोजगारी घट्यो
कोरियाको कामदार घट्यो
मिसन चौरासीको भोट घट्यो
परिवारको सङ्ख्या घट्यो
आमाको सन्तान घट्यो
साथीको प्रेरणा घट्यो
प्रहरीको शत्रु घट्यो
घट्न त कति घट्यो कति
यस्ता कति घटे कति
न्याय मरेको देश हो
यो रोकिँदैन
यो चलिरहन्छ।

(लेखक : रिमनाथ खत्री सिस्ने-3, रुकुम (पूर्व)
कखरा अनलाइन बाट साभार)