वन बिनास रोक्न उपभोक्तालाइ सिलिण्डर र चुलो बितरण !

जाजरकोट,१७ पुस । जाजरकोटको एक सामुदायिक वन उपभोक्ता समितिले स्थानीयलाई खाना पकाउने एलपी ग्याँस वितरण गरेको छ । दाउराको प्रयोगले वन विनाश बढेको भन्दै शिवालय गाउँपालिका –०१ को चुली सामुदायिक वन उपभोक्ता समुहले एलपी ग्याँसका सिलिण्डर र चुलो लगायतका सामग्री वितरण गरेको हो ।

उपभोक्ता समुहमा रहेको १ सय १५ घरधुरीलाई एक–एक सेट एलपी ग्याँसका सिलिण्डर, चुलो, लाईटर, रेगुलेटर र पाईप लगायतका सामग्री वितरण गरिएको चुली वन उपभोक्ता समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिए ।

उपभोक्ताहरुको माग अनुसार समुहमा आवद्ध सदस्यहरुलाई उक्त सामग्री वितरण गरिएको रानाले बताए । समुहमा सल्लाको खोटो संकलन र अन्य काठ विक्री वितरण बाट २१ लाख भन्दा बढी रकम संकलन भएको थियो । सोही रकममध्ये बाट ८ लाख २६ हजार रुपैयाँमा सिलिण्डर, ग्याँस चुलो खरिद गरी वितरण गरिएको अध्यक्ष रानाले बताए ।

‘गाउँमा दाउराको नाममा जथाभावी वनको फडानी भईरहेको छ, वन जंगलको विनाशले पानीका मुहानहरु सुक्दै गएका छन्’ उनले भने, ‘वन विनाश रोक्नका लागि समुहको निर्णय बमोजिम खाना पकाउने एलपी ग्याँस वितरण गरेका हौं ।’